प्रदेशलगायत विभिन्न तहमा निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने कांग्रेसको निर्णय

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न तहमा निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ । कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार पार्टी कार्यालय सानेपामा बसेको समिति बैठकले प्रदेशलगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको हो ।  समितिले विभिन्न तहमा बन्न बाँकी संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समितिसमेत गठन गर्न निर्देशन दिएको छ । 

बैठकमा समिति सदस्यहरु डा. प्रकाशशरण महत,सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चीनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला र जीवन रानाले धारणा राखेका थिए।

सुझावित समाचार