यो म्यादी सरकार हो, दिनगन्ती सुरु भइसक्यो : अध्यक्ष ओली

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
यो म्यादी सरकार हो, दिनगन्ती सुरु भइसक्यो : अध्यक्ष ओली

फाइल फाेटाे ।

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै देउवा सरकार धेरै दिन नचल्ने बताएका छन्। बिहीबार जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको बताए।

‘यो म्यादी सरकार हो। दिनगन्ती सुरु भइसकेको छ। यो सरकार चुनावसम्म पनि जानेवाला छैन,’ ओलीले भने। एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको उनको जिकिर छ। उनले भने, ‘अहिलेको सरकार जनतालाई ढाँट्ने र छक्याउने खेलमा देखिएको छ। यिनीहरूको कुनै पार्टीको ठेगान छैन। यो सरकार चाँडै ढल्नेवाला छ। जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुनेछैन।’

मार्सी चामल र पर्यटनको चर्चा
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी भएकाले आफ्नो परिस्थितिअनुसार विकास गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु। ढुक्क हुनुहोस् र सिँजाले विकास गर्न सक्छ। एक–आपसमा हातेमालो गरौँ। कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीयस्थल भएको बताउँदै चन्दननाथ बाबाले पत्ता लगाएकाे मार्सी चामल नेपालको मौलिक ब्रान्ड भएको बताए।

‘पहिले एकपटक मार्सी चामल खाएको थिएँ। निकै चर्चा चल्यो। अहिले त झन् सिँजामै पुगेर मार्सी चामलको भात र सिमीको दाल खाएको छु। हिमानदीको निकै स्वादिष्ट माछा खाएको छु। यहाँ उत्पादित अर्गानिक आलुको तरकारी खाएको छु। वास्तवमा यहाँका खाना शुद्ध र शक्तिवर्द्धक छ । संसारमा सबैभन्दा मिठो माछा सायद जुम्लामै पाउँछ होला,’ उनले भने। अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सी चामलकाे भात र सिमीकाे दाल खाएका थिए।

सुझावित समाचार