लालबन्दीमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो, पाँच घाइते

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

भारतीय नम्बर प्लेटको कार दुर्घटना, कारमा सवार सबै भारतीय नागरिक

पूर्व–पश्चिम लोकमार्गस्थित लालबन्दीमा भएको कार दुर्घटनामा चालकको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर पुलनजिकै बुधबार राति भारतीय नम्बर प्लेटको बिआर ०६ बिएम १५३७ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कारचालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी– २, निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते यादवको तत्काल उद्धार गरी लालबन्दीस्थित गढीमाई अस्पताल पुर्याइएको थियो । कानबाट अधिक रगत बगेको अवस्थामा अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक यादवको सबपोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । 

यसैगरी, कारमा सवार भारतको सीतामढी जिल्लाको बयलडाबड धनुषी– २, का २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिव्यान्स यादव, २८ वर्षीय  प्रिन्सराज राजपुत, २२ वर्षीय सौरव यादव र भारतको मुजफ्फरपुर रामनगर– १ बस्ने २५ वर्षीय  अजित यादव गम्भीर घाइते भएका छन् । उनीहरूको लालबन्दीस्थित गढीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । उनीहरूको पनि शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्रगतिका कारण कार अनियन्त्रित भई सडकबाट १० फिट तल पल्टिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भयरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए ।

सुझावित समाचार