पाँच दिनपछि बजारमा सुधार नेप्से ४० अंकले बढ्यो

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

बुधबार सेयर बजार परिसूचक नेप्से ४० अंकले बढेको छ । लगातार घटिरहेको बजार पाँचौँ दिन बढेको हो । नेप्से बुधबार ४० दशमलव ६८ अंकले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ । बजार घटेको पाँचाँै दिनपछि बजारमा हरियाली छाउँदा कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । फाइनान्स समूह र विकास बैंक समूहको सूचक तीन प्रतिशतभन्दा बढीले बढेका छन् भने होटेल तथा पर्यटन समूह, जलविद्युत् समूह, लगानीगत समूहको सूचक दुई प्रतिशतले बढेका छन् । अन्य बाँकी समूहको सूचक सामान्य बढेका हुन् ।

यसअघि चैत ८ गते नेप्से सूचक बढेको थियो । त्यसपछि सूचकमा निरन्तर गिरावट आउँदा दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको थियो । अब बिस्तारै बैंक तथा वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछन् भने सरकारले चुनावी तयारी पनि तीव्र पारेका छन्, बजारमा रकम आउने समय नजिकिँदै गएकाले पनि बजार बढ्ने तथा करेक्सनको फेज पनि सकिएको हुँदा आगामी दिन बजार बढ्ने आधार तयार भएको ब्रोकर बताउँछन् ।बजार लगातार निकै घटेको हुँदा बिस्तारै बढ्ने प्रयासमा देखिएको छ । यस दिन एक सय ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । 

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट 
तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । सामलिङ पावर कम्पनी, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको सेयर मूल्य सातदेखि नौ प्रतिशतले बढेको छ । यस दिन युनिलिभर नेपाल, कुमारी इक्विटी फन्ड, सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य एक प्रतिशतदेखि दुई प्रतिशतले घटेका छन् ।

कारोबारको रकम अघिल्लो दिन मंगलबारकोे भन्दा सुधार आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ४५ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल दूरसञ्चार कम्पनी, शिवम् सिमेन्टको सेयर मूल्य ६ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको कारोबार भएको छ । 

बलेफी हाइड्रोपावरको आइपिओ निष्कासन
बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासनमा ल्याएको छ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १८ लाख २७ हजार नौ सय ७० कित्ता सेयर निष्कासनमा ल्याएको हो । निष्कासनमा ल्याएको कुल सेयरमध्ये चार प्रतिशत अर्थात् ७३ हजार एक सय १९ कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् एक लाख ९१ हजार तीन सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार चार सय ५३ कित्ता सेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार