म्यादीमा ३२ हजारभन्दा धेरै १२ कक्षा पास गरेका युवा, २० देखि ३० वर्षका आवेदक बढी

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण
म्यादीमा ३२ हजारभन्दा धेरै १२ कक्षा पास गरेका युवा, २० देखि ३० वर्षका आवेदक बढी

म्यादी प्रहरीमा भर्ना हुन कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलमा शारीरिक परीक्षण गर्दै  । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

स्थानीय तहको निर्वाचनका लागि मंगलबारदेखि म्यादीप्रहरी भर्नाको छनोट सुरु भएको छ । एक लाख माग भएकोमा २ लाख ९३ हजारले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये ३२ हजार १२ जना १२ कक्षा  उत्तीर्ण गरेका छन् । 

त्यस्तै, तीन सय ४१ जना स्नातक तह उत्तीर्ण गरेका छन् । एसइई उत्तीर्ण गरेका आवेदक ८३ हजार दुई सय ११ छन् । एक लाख ७७ हजार सात सय ५० जनाभने एसइईभन्दा कम पढेकाहरू छन् । म्यादीमा भर्नाका लागि साधरण लेखपढ गरेका व्यक्ति पनि योग्य ठहरिन्छन् । तर, छनोटमा पढाइलाई समेत आधार बनाइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । 

आवेदन दिनेमध्ये करिब ७० प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन् । सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका युवा छन् । यो उमेर समूहका एक लाख ३३ हजार चार सय ७६ तथा २० वर्षसम्मका ८३ हजार ६ सय २९ छन् । ३० देखि ४० वर्ष उमेरका ५४ हजार ८ सय ४७ तथा ४० देखि ५४ वर्षका २१ हजार तीन सय ६३ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दरखास्त दिनेमध्ये ६९ हजार ६ सय ८० महिला छन् । 

२९ सय मतदानस्थल अतिसंवेदनशील, तर तीन मात्रै सुरक्षाकर्मी खटिने
१० हजार ७ सय ५६ मध्ये   दुई हजार नौ सय ४६ मतदानस्थलाई गृह मन्त्रालयले अतिसंवदनशीलको सूचीमा राखेको छ । ६ वटा कारणले ती मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । खुला सीमा क्षेत्रका, पहिलेको निर्वाचनमा झडप भएका, भूमिगत तथा सशस्त्र विभिन्न समूहबाट सुरक्षा चुनौती भएका, दुर्गम क्षेत्रका र जिल्ला सुरक्षा समितिले अति संवेदनशील भनेर तोकेका मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । तर, अति संवेदनशील मतदान केन्द्रमा पनि अन्यमा जस्तै तीनजना मात्र  प्रहरी खटिनेछन् । 

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी छुट्याइएको छ । अतिसंवेदनशीलमा ८, संवेदनशीलमा ६ र सामान्यमा पाँच म्यादीप्रहरी खटिनेछन् । यसअघिको निर्वाचनमा अतिसंवेदनशीलमा ५ प्रहरी र १० म्यादी प्रहरी खटाइएको थियो । यसपटक एकै चरणमा चुनाव हुँदा जनशक्तिको अपुग भएकाले थोरै मात्र खटिनेछन् । त्यस्तै,   चार हजार चार सय २० संवेदनशील र तीनहजार  तीन सय ९१   मतदान स्थललाई सामान्यमा राखिएको छ । 

See More On

सुझावित समाचार