किन बन्दैनन् नेपालमा बायोपिक सिनेमा ?

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

निर्देशक मिलन चाम्सले गत शुक्रबार महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा (बायोपिक) ‘अन्जिला’ बनाउने घोषणा गरे । उनले व्यावसायिक नाफाघाटा छोडेर समाजमा योगदान पुर्‍याएका केही फरक पात्र छनोट गरेर ‘बायोपिक’ सिनेमा निर्माण गर्न लागेको बताए ।कार्यक्रममा उनले ‘समाजका हरेक व्यक्तिका भिन्न कथा हुने, तर यस्ता व्यक्ति वा पात्रमाथि भने चलचित्र बन्नुपर्ने बताए । एन्जिलाजस्ता हजारौँ महिला खेलाडी भए पनि उनी महिला खेलाडीको प्रतिनिधित्व गर्ने पात्र भएको बताए । ‘बायोपिक चलचित्र बनाउन जोखिम छ, तर मैले आँट गरेको छु । बायोपिकमा लगानी उठ्ने नउठ्ने निश्चित छैन । यसकारण बायोपिक सिनेमा निर्माणमा राज्यले लगानी गर्नुपर्छ,’ उनी भन्छन् । 

यो बायोपिक सिनेममा एन्जिला नै मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै  सिनेमामा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ ।अभिनेता दयाहाङ राई पनि देश, समाजका लागि योगदान पुर्‍याएका व्यक्तिहरूको जीवनीमा आधारित ‘बायोपिक’ सिनेमा बन्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘यस्ता व्यक्ति थुप्रै संघर्ष गरेर स्थापित भएका हुन्छन् । उनीहरूमाथि सिनेमा किन बन्दैनन् ? मायाप्रेममा आधारित सिनेमा मात्रै सिनेमा हो त ? समाजका धेरै व्यक्तिका कथा सिनेमामा छुटेका छन् ।’

हलिउड र बलिउडमा बायोपिक सिनेमाको स्थान निकै माथि छ । यस्ता सिनेमाको चर्चा मात्रै हुँदैन व्यावसायिक सफलता पनि पाइरहेका छन् ।हुन त नेपालमा पनि ‘बायोपिक’ सिनेमा निर्माण हुन थालेको दुई दशकभन्दा बढी भइसक्यो । यादव खरेलको लेखन तथा निर्देशनमा ०५६ मै ‘आदिकवि भानुभक्त’ नामको बायोपिक सिनेमा बनेको थियो । निर्देशक खरेल भन्छन्, ‘समाजमा महत्वपूर्ण योगदान दिने अनुकरणीय पात्रहरू पुस्तान्तरणसँगै बिर्संदै जान्छन् । उनीहरूलाई बायोपिकमार्फत जीवन्त राख्न सकिन्छ ।’ 

उनले केही नयाँ र सिर्जनात्मक काम गर्ने इच्छाले आदिकवि भानुभक्तलाई पर्दामा उतारेको बताए । ‘भानुभक्तलाई पर्दामा जीवन्त राख्न आदिकवि भानुभक्त  बनाएको हुँ । एक वर्ष मैले पूर्ण रूपमा आफूलाई यसैमा समर्पण गरेँ,’ उनले भने । खरेलले साहित्यकार कमल दीक्षितको नेतृत्वमा आदिकवि भानुभक्त चलचित्र निर्माण समिति र रामचन्द्र पौडेल शर्माको नेतृत्वमा ‘भानु जन्मस्थल विकास समिति’ गठन गरेका थिए । साथै भानुभक्तसँग सम्बन्धित सबै भौतिक संरचनासमेत निर्माण गर्नुपरेको उनी बताउँछन् । सिनेममा दिलीप रायमाझी आदिकवि भानुभक्तको भूमिकामा थिए ।

यसपछि नवीन्द्रराज जोशीको लेखन तथा सम्झना श्रेष्ठ र विजयरत्न तुलाधरको निर्देशनमा नेता गणेशमान सिंहको जीवनीमा आधारित ‘वीर गणेशमान’ सिनेमा बन्यो । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा पनि ‘आचार्य’ बायोपिक बन्यो । प्रशान्त रसाइली निर्देशित ‘आचार्य’मा भक्तराज आचार्यको भूमिकामा उनकै जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका थिए । यस्तै गायन, नृत्य र अभिनयमा अब्बल दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित बायोपिकलाई मिलन चाम्सले नै निर्देशन गरेका थिए । सिनेममा अभिनेत्री वेनिशा हमालले अभिनय गरिरहेकी छन् । 

किसान अन्दोलनका अभियन्ता भीमदत्त पन्तको जीवनीमा आधारित भएर नवल खड्काले ‘भीमदत्त’ सिनेमा बनाए । हिमग्याप लामा (टासी)को निर्देशनमा बनेको भीमदत्तमा नवल खड्का, सुमिना घिमिरे र निशा अधिकारीको अभिनय छ । विनोद विष्टको निर्माण तथा निर्देशनमा साहित्यकार झमककुमारी घिमिरेको जीवनमा आधारित ‘जीवन काँडा कि फूल’ बन्यो । यसमा सारिका घिमिरेको मुख्य भूमिका छ । यसपछि केही बायोपिक सिनेमा घोषणा भए पनि निर्माण हुन सकेका छैनन् ।

 बायोपिकको चर्चा मात्रै
थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विष्ट अर्थात् रुदानेको जीवनीमा आधारित बायोपिक ‘रुदाने’को चर्चा सिने क्षेत्रमा कायमै छ । निर्माणाधीन  सिनेमा रुदानेले नेपालमा ‘बायोपिक’ सिनेमालाई थप बहसमा ल्याएको छ । ०७३ मा एमाले अध्यक्ष केपी शर्माको बोयोपिक ‘रातो सूर्य’को घोषणा गरिएको थियो । दीपेन्द्रप्रसाद दाहालले निर्देशन गर्ने सिनेमामा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने जनाइएको थियो । तर, ‘रातो सूर्य’ अझै निर्माण पूरा भएको छैन । ०७६ मा मधेसका नेता डा. सिके राउतको जीवनीमा आधारित रहेर ‘डा. सिके राउत द प्यासन’ बायोपिक घोषणा गरिएको थियो । यो सिनेमा पनि निर्माण हुन सकेको छैन । 

जीवित मानिसको बायोपिक सिनेमा बनाउन सजिलो हुने निर्देशक खरेलको अनुभव छ । तर, ऐतिहासिक मानिसहरूको बायोपिक पनि बन्नु पर्छ । उनी भन्छन्, ‘मनोरन्जनका लागि बायोपिक बनाउन सजिलो छ । तर, समाजका ऐतिहासिक पात्रलाई दृश्यात्मक र सिर्जनात्मक रूपमा पुनः प्रस्तुत गर्नु निकै गाह्रो छ ।’
निर्देशक छिरिङ रितार शेर्पाका अनुसार बायोपिक सिनेमा निर्माण गर्दा अनुसन्धानमा निकै मिहिनेत गर्नु पर्ने भएकाले अन्य सिनेमा भन्दा फरक हुन्छन् । उनी भन्छन्, ‘बायोपिकलाई अरू सिनेमा जसरी सोचेर बनाउँछु भनेर हुँदैन । किनभने यसमा खोज अनुसन्धानमा धेरै समय लाग्छ । अझ ऐतिहासिक व्यक्तिको बायोपिक बनाउन थप मिहिनेत लाग्छ ।’ 

नेपालमा बायोपिक निर्माण गर्न आफैँमा चुनौतीपूर्ण काम भएको उनको बुझाइ छ । कलाकार मात्रै नभएर त्यतिवेलाको पृष्ठभूमि, समाज उतार्न सहज छैन । एउटा बायोपिक सिनेमा बनाउन नयाँ संसार निर्माण गर्नुपर्छ,’ उनले भने । बोयोपिक बनाउन निकै समय लाग्ने भएकोले निर्देशकहरूले इच्छा नदेखाएको हुन सक्ने उनको भनाइ छ । ‘पहिलो त सिनेमालाई कसरी सन्तुलित बनाउने भन्ने जोखिम हुन्छ । कुनै पनि व्यक्तिको बायोपिक बनाउँदा उसका अनेकथरी धारणाबाट तथ्यमा रहेर विश्वासिलो सिनेमा निर्माण गर्न ज्यादै गाह्रो काम हो,’ उनले भने । 

सुझावित समाचार