नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेपालले ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाएका हुन् ।
उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए । उनले तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै साहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि आफूले उनीहरूबाट धोका पाएको नेपालको भनाइ छ । नेपालले तत्कालीन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए ।
नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरू एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरूलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै नेपालले आफूहरू त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए ।
उनले पार्टीका युवाहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिए ।