पिप्ले युवा क्लब हेटौँडाले ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटवल क्लबलाई सडनडेथमा ४–३ ले पराजित स्तब्दै पार्दै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बागमती नगरपालिका– ११ सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा अइतबार सम्पन्न फाइनलमा साबिक विवेतासमेत रहेको पिप्ले युवाले उपाधि रक्षा गर्न सडनडेथको सहयोग लिएको हो ।
सडनडेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेपछि पिप्ले युवा क्लब च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेटको प्रतिस्पर्धामा दुवै टोलीले गोल गर्न नसक्दा उपाधिको छिनोफानो सीधै टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा मच्छिन्द्र र पिप्ले युवाले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा गयो । टाइब्रेकरमा मच्छिन्द्रका विमल घर्तीमगरको प्रहार पिप्लेका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बाहिर पठाए । मच्छिन्द्रका देवेन्द्र तामाङको प्रहार सीधै क्रसबारमाथिबाट बाहिरियो । पिप्लेका कुलदीप कार्कीको प्रहार क्रसबारमाथि गयो । मार्टिन अजयको प्रहार पोस्टभन्दामाथि नै गयो । निर्धारित समयमा दुवै टोली निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठले ५५औँ र विमलले ७७औँ मिनेटमा पिप्ले युवाका गोलरक्षकविरुद्ध वान भर्सेज वानको अवस्थामा समेत गोल गर्न सकेनन् । पिप्लेले निकै सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, फिनिसिङ बलियो बनाउन नसक्दा मच्छिन्द्रविरुद्ध गोलका लागि संघर्ष गरिरह्यो । खेलमा पिप्लेका ऋतिक अधिकारी र विदेशी खेलाडी मार्टिनले प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । खेलको अन्तिम २० मिनेट पिप्ले रक्षात्मक रणनीतिमा देखिएको थियो । मच्छिन्द्रको स्ट्राइकर र मिडफिल्डबीच तालमेल मिलिरहेको थिएन ।
उपाधिसँगै पिप्लेले जनक कप र १० लाख हात पारेको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख पाएको छ । प्रतियोगिताको उदयमान खेलाडी बागमतीका विमल घिसिङ भएका छन् । उनले दुई सय सिसीको मोटरसाइकल पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पिप्लेका रूपक लामा भएका छन् । लामाले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्टाइकर मच्छिन्द्रका विमल घर्तीमगर, उत्कृष्ट मिडफिल्डरमा मच्छिन्द्रकै सुजल श्रेष्ठ र उत्कृष्ट डिफेन्डर बागमतीका अमर श्रेष्ठ घोषित भएका छन् । उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाएका छन् । २ चैतदेखि सुरु भएको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
हामी अनलक्की भयौँ
प्रवेश कटुवाल, प्रशिक्षक मच्छिन्द्र
समग्रमा खेल राम्रो हुँदाहुँदै हामी फाइनलमा अनलक्की भयौँ । फाइनल खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेले । उपाधि भिडन्तमा थोरै अवसर पाउँछ । यसैलाई सदुपयोग गरी नजिता आफ्नो पक्षमा पार्ने हो । तर, अवसर सदुपयोग नहुँदा हारको सामना गर्नुपर्छ । आज हाम्रो पनि त्यस्तै भयो । टाइब्रेकरमा पनि हाम्रो त्यस्तै अवस्था भयो । हामी पाँचौँ पेनाल्टी गोल गर्दा जित्ने तयारीमा थियौँ । विपक्षी गोलरक्षकले टाइब्रेकर सडनडेथमा पुर्याए ।
खेलाडीको मिहिनेत सफल भयो
सुविन घिमिरे, प्रशिक्षक, पिप्ले
खेलाडीहरूको मिहिनेतका कारण नै उपाधि रक्षा गर्न सकेका हौँ । म अत्यन्त खुसी छु । हामीले दुईवटा सफलता प्राप्त गरेका छाैँ । पहिलो प्रतियोगिताको च्याम्पियन भयौँ । दोस्रो ए डिभिजन च्याम्पियनलाई नै फाइनलमा हरायौँ । खेल अवधिभरि हामीले बल नियन्त्रणमा राखेका थियौँ । हामी शनिबार राति अबेर सिमरा गोल्डकप खेलेर आएका थियौँ तर पनि खेलाडीले राम्रो खेले । हामीले मोफसलका खेलाडी बटुलेर टिम बलियो बनाएका थियौँ । तर पनि उपाधि उचाल्यौँँ । हामी प्राविधिक रूपले पनि सबल देखियौँ ।