आसन्न ३० वैशाखमा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई लिएर प्रमुख दलका प्रमुख नेताहरूको दौडधुप मात्रै होइन, सम्भावित गठबन्धनलाई लिएर तीव्र आरोप–प्रत्यारोप जारी छ । नेताहरू जनसरोकारको मुद्दामा होइन, गठबन्धनको बहसमा केन्द्रित बनेका छन् । गठबन्धनलाई लिएर पार्टीभित्रको विवाद पनि शीर्ष नेताले छताछुल्ल पारेका छन् । शनिबार राजधानीमा भएको बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभामा कांग्रेस सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई लिएर फरक–फरक अभिव्यक्ति आए । कांग्रेसमा संस्थापन पक्ष गठबन्धनको पक्षमा र इतर समूह विपक्षमा देखिएको छ ।
गठबन्धन गरेरै भए पनि पार्टीलाई जित दिलाउनु आफ्नो दायित्व भएको सभापति देउवाको भनाइ रहँदा नेता कोइरालाले भने गठबन्धनले कांग्रेसको विचार कमजोर हुने बताए । ‘हिजो हामीले चुनाव हारेको हो । सभापतिको हैसियतमा पार्टीलाई चुनाव जिताउनुपर्छ भन्ने चहाना हो । केपी ओलीको पार्टी कमजोर छैन । प्रचण्ड हार्नका लागि चुनाव लड्छन् ? फेरि मिलिहाल्छन् नि । जहाँ सजिलो हुन्छ उतै मिलिहाल्छन् । यसलाई पनि बुझौँ मिलेर जाऔँ,’ कार्यक्रममा देउवाले भने, ‘देशलाई एक बनाउने हाम्रो पार्टीको दायित्व हो । प्रजातान्त्रिक पार्टी कांग्रेस मात्रै हो । कम्युनिस्टहरूको संख्या ठूलो छ । हामी सबै मिलेर जाऔँ, पार्टीलाई बलियो बनाऔँ । कांग्रेसलाई कमजोर गराउनका लागि गठबन्धन गरौँ भनेको होइन । संविधानको रक्षा गर्नु छ, प्रजातन्त्रको सुदृढीकरण गर्नु छ । यस्तो अवस्थामा हामी सबै मिलेर जानुपर्छ ।’
कार्यक्रममा देउवाले कांग्रेसको गुटबन्दी कायमै रहने पनि स्पष्ट पारे । ‘मलाई अब धेरै समय राजनीति गर्नु छैन । बिपी, सुवर्ण, गणेशमानको पालामा पनि पार्टीमा गुट थियो । गिरिजाबाबु र कृष्णप्रसाद भट्टराईको पालामा पनि गुट थियो । त्यसपछि पनि गुट भएकै छन् । त्यसकारण गुटबाट पार्टी मुक्त हुनेवाला छैन,’ उनले भने ।
तर, त्यही कार्यक्रममा नेता कोइरालाले कांग्रेस मिले गठबन्धनको खाँचो नहुने मत राखेका थिए । ‘कांग्रेसभित्र जुन गुट र उपगुट छन् । त्यसलाई मिलाएर जान सक्यौँ भने गठबन्धन आवश्यक पर्दैन । एकातिर गठबन्धन गरेर जाने, तर तल्लो तहमा (जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, प्रदेश–प्रदेशमा) कांग्रेसका कार्यकर्ताबीच नै मेलमिलाप नहुने अवस्था आयो भने गठबन्धनको औचित्य हुँदैन,’ कोइरालाको भनाइ थियो, ‘गठबन्धनबारे छलफल हुँदै छ, त्यसको निचोडअनुसार अगाडि बढ्छौँ । स्थानीय तहमा मात्र होइन, प्रदेश र केन्द्रमा पनि कांग्रेसले जित्नुपर्नेछ । गठबन्धन गर्दा कांग्रेस विचार र सिद्धान्त कमजोर हुन्छ कि भन्ने चिन्ता छ ।’
शनिबार दुईवटा कार्यक्रममा सहभागी भएका एमाले अध्यक्ष केपी ओली पाँचदलीय गठबन्धनविरुद्ध उत्रिएका छन् । ‘शेरबहादुर देउवाजीले सही बुझे, आधा सही बुझे । एक्लै एमालेसँग लड्न सकिँदैन भन्ने बुझे । आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्नेचाहिँ बुझेनन्, त्यतिचाहिँ बाँकी रह्यो,’ नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौँ महाधिवेशनमा ओलीले भने, ‘एक्लै त सकिँदैन, सकिँदैन । सबै मिले पनि सकिँदैन । पाँचवटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गए पनि हुन्छ । ती सबै दल मोर्चा कसेर एमालेका विरुद्ध आए पनि हुन्छ । यिनीहरूको मोर्चा भनेको हलोमा लाग्ने लुँडीजस्तो हो, झारपातहरूको मोर्चा ।’
ओलीले एमालेसँग डराएकाहरूबीच मोर्चा बन्न थालेको बताए । ‘एमालेसँग डराएर अरूहरू एकजुट हुने काम गरिराखेका छन् । मलाई सन्तोष छ– एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले गर्या छैन । अरू त त्यस्तै हो कांग्रेसले सभापतिहरूको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरूले भने गठबन्धन गर्नु हुँदैन भन्छन् । शेरबहादुर देउवाजीले नचाहिने कुरा गर्ने भन्नुभयो । एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन भन्नुभयो । त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ ओलीले भने, ‘कांग्रेसको टुप्पामा बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो, उहाँ छक्क पर्नुभयो । सबै एकतिर लागेर के गर्ने ? नेपाली जनता फिप्टी पर्सेन्टभन्दा माथि हामीसँग छ ।’
बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्न गोरखा पुगेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन बन्ने दाबी गरे । ‘प्रतिक्रियावादी र प्रतिगमनकारीले आगामी चुनावमा माओवादीलाई हराइछाड्ने भनेका छन् । एमसिसीलाई देखाएर अर्को प्रतिक्रियावादी गठबन्धन बनाउने, एमाले र कांग्रेसको गठबन्धन गरेर माओवादीलाई देशभरिबाट बढार्ने भन्ने सपना थियो । अनेक बुद्धि लगाइयो र उनीहरूको सपना चकनाचुर भयो, गठबन्धन टुटेन । सर्प पनि मर्ने लठी पनि नभाँचिने तरिकाले एमसिसी पनि हल गरिएको छ । प्रतिक्रान्तिकारी र विघटनकारीको सपना चकनाचुर भएको छ,’ प्रचण्डले भने, ‘अझै पनि उनीहरूले माओवादीलाई चुनाव हराउनुपर्छ भनेर भित्र–भित्र धेरै चिज गरेका छन् । सबै वर्ग, क्षेत्र, जाति, लिंग र समुदायका मानिसहरू सडकमा आउने हो भने यो परिवर्तन रोक्न सक्दैनन् । हामी त्यस्तै ‘कलरफुल रिभोलुसन’ गरेर भए पनि प्रतिक्रान्तिलाई परास्त गर्न तयार छौँ । कसैले भनेर हुँदैन, अहिलेको गठबन्धन टुट्दैन ।’
प्रचण्डले जनयुद्धका घाइते, अपांग र सहिदको सपना पूरा गर्न माओवादीले स्थानीय निर्वाचन जसरी पनि जित्नुपर्ने बताए । ‘अरूले हार्दा–जित्दा खासै फरक पर्दैन । तर, माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ,’ उनले भने । अन्य पार्टीलाई स्थानीय निर्वाचन एउटा चुनाव मात्र हो । माओवादीका लागि चुनाव लडाइँ हो, हामीले जित्नैपर्ने छ ।’ एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनले बताए ।
गुल्मी जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले एमालेलाई वडा–वडामा धुलो चटाउने बताए । ‘कम्युनिस्टको आवरणमा आएको तानाशाही प्रवृत्तिविरुद्ध कांग्रेसले जुध्ने निर्णय गर्यो र हामी सबै एक भयौँ । ओली अझै सुध्रिने देखिँदैनन्, त्यसकारण आगामी चुनावमा ओलीको पार्टीलाई धुलो पिलाउने काम गरेनौँ भने त्यो प्रवृत्तिले देशलाई दुःख दिन्छ । संविधान मास्ने काम गर्छ, विदेशीको गुलामी गर्ने काम गर्छ, नेपालको सार्वभौमसत्तामा प्रतिकूल असर पर्छ,’ नेपालले भने, ‘त्यसकारण जसरी राजतन्त्रका विरुद्धमा लडेका थियौँ, अहिले ओली प्रवृत्तिविरुद्धको लडाइँ पनि त्यस्तै हो । मैले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका जिल्लाका नेताहरूसँग कुरा गरेँ । उहाँहरूले भन्नुभएको छ–गठबन्धन गरेर जाऔँ, ओलीको पार्टीलाई वडा–वडामा धुलो चटाउन सक्छौँ ।’
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त एमालेलाई पार्टी नभई गुटको संज्ञा दिए । उनले आगामी चुनावमा एमालेले तीन सिट ल्याउने दाबी गरे । ‘माओवादीसँग एकता गरेपछि त्यसवेला एमाले सिद्धियो, इतिहासको वस्तु भयो । अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी सर्वोच्च अदालतबाट ब्युँताइएको हो । यो गुट हो । नयाँ प्रकारले जन्म भएको गुटले देशभर एमाले भनेर भ्रम छरिरहेको छ,’ खनालले भने, ‘हामीले बनाएको नेकपा एमाले त्यो होइन । अझै पनि थुप्रै साथी हामीले बनाएको एमालेभित्र भ्रमवश बस्नुभएको छ । एमालेले आगामी चुनावमा दुईतिहाइ त होइन, त्यसको उल्टो दुई–तीनवटा हुन सक्छ । अब ओलीले ल्याउने भनेको दुई–तीनवटा सिट हो ।’