आवश्यकता र औचित्यका अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण
आवश्यकता र औचित्यका अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

फाइल फाेटाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यका आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुने बताए । उनले भने, “विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरूसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुन्छ।”

मन्त्री कार्कीले विकासविनाको राजनीतिले देश र समाजको रूपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण, सुशासन, कानुनी शासनको प्रत्याभूति भएकाले त्यसका लागि गठबन्धन निर्माण भएको बताए।

उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुनसमेत सबैलाई आग्रह गरे। मन्त्री कार्कीले भने, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रूपमा सम्पन्न हुन्छ ।” रासस

सुझावित समाचार