लमजुङमा म्यादी प्रहरीमा मागभन्दा दाेब्बर बढीले दिए आवेदन

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

लमजुङमा म्यादी प्रहरीमा भर्ना हुन मागभन्दा दाेब्बर बढीले आवेदन दिएका छन्। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा २ हजार ६ सय ३४ जनाले आवेदन दिएका  हुन् । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्।

आइतबारदेखि शुक्रबारसम्म  जिल्ला प्रहरी कार्यालय लमजुङमा २ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले  बताए । जसमा ३ सय ९६  जना महिला र  २ हजार २ सय ३८ जना पुरुषले आवेदन दिए । उनका अनुसार लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनाेट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।
 

सुझावित समाचार