रोहितको सानदार शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट एक सय २६ रनको शतकीय इनिङ्स खेलेपछि शुक्रबार नेपाल पपुवा न्युगिनीसँगको एकदिवसीय क्रिकेट प्रतियोगितामा ६ रनले पराजित भएको छ । पपुवा न्युगिनीले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९२ रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र जोड्यो । नेपाल र पपुवा न्युगिनीले एक–अर्काविरुद्ध बनाएको योगफल दुवैका लागि एकदिवसीय खेलमा सर्वाधिक योगफल थियो ।

अन्तिम ओभरमा १० रन आवश्यक
कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको थियो । नेपालले अन्तिम ओभरमा जित निकाल्न १० रन बनाउनुपर्ने थियो । क्रिजमा सोमपाल कामी तथा कमल ऐरी थिए । पपुवा न्युगिनीबाट अन्तिम ओभर नर्मन भानुवाले गरेका थिए । उनले इनिङ्सकै अन्तिम ओभरमा केवल तीन रन मात्र दिएर पपुवा न्युगिनीलाई सनसनी जित दिलाउन सफल भए । भानुवाको पहिलो बलमा कमलले एक रन लिए । स्ट्राइकमा रहेका सोमपालले दोस्रो बल डट खेले । 

भानुवाले फ्याँकेको तेस्रो बलमा लेग वाइका रूपमा एक रन भयो । कमलले भानुवाको चौथो बल डट खेलेका थिए । नेपाललाई अन्तिम दुई बलमा आठ रन चाहिएको थियो । नेपालसमक्ष जित निकाल्न भानुवाका अन्तिम दुई बल बाउन्ड्रीबाहेक अन्य विकल्प नै रहेनन् । कमलले पाँचौँ बलमा एक रन मात्र लिन सके । अन्तिम बलमा नेपाललाई सात रन खाँचो भयो । अन्तिम बल सामना गरेका सोमपालले एक रन मात्र बटुलेपछि नेपाल पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भयो । सोमपाल र कमल समान १८ रनमा नटआउट रहे । 

९१ बलमै रोहितको शतक
लक्ष्य पछ्याउँदा नेपालका रोहितकुमार एक्लैले इनिङ्स अगाडि बढाएका थिए । उनले आरिफ सेख तथा भीम सार्कीसँग उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए । आरिफसँग पाँचौँ विकेटका लागि एक सय चार रनको कीर्तिमानी साझेदारी गरी नेपाललाई १७७–५ को स्थितिमा पुर्याए । त्यसपछि भीमसँग छैटौँ विकेटका लागि रोहितले ४० रनको साझेदारी गर्न सफल भए । रोहितले नेपाललाई ४०.५ ओभरमा २१७–६ को स्थितिमा राखे । नेपाललाई अन्तिम नौ ओभरमा ७६ रनको आवश्यक रह्यो । रोहित इनिङ्सको ४५.२ ओभरमा आउट भए । उनले आफ्नो विकेट अमिनीलाई क्याच आउटका रूपमा दिन पुगे । रोहित क्रजबाट हट्दा नेपाललाई ४२ रन चाहिएको थियो । 

लगभग नेपाललाई जितको नजिक पुर्याएका रोहितले ९१ बलमा आफ्नो पहिलो एकदिवसीय शतक पूरा गरेका थिए । नेपालको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक थियो । रोहितले आफ्नो उत्कृष्ट शतकीय इनिङ्स खेल्दा एक सय सात बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए । उनले कीर्तिमानी शतक बनाए पनि नेपाललाई हार टार्न सकेनन् । रोहितले आफ्नो अर्धशतक ७६ बलमा पूरा गरेका थिए । 

व्यक्तिगत उपलब्धिमा रोहितले पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक रन पनि तोडेका छन् । सन् २०१९ मा पारसले युएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा एक सय १५ रनको इनिङ्स खेलेका थिए । शतकका बाबजुद नेपाललाई जित दिलाउन नसकेपछि रोहित निराश देखिए । पेभेलियनमा निराश देखिएका रोहितले खेल जित्दा राम्रो हुने प्रतिक्रिया दिए । ‘खेल जितेको भए निकै राम्रो हुने थियो,’ रोहितले भने, ‘मैले खेललाई अन्तिमसम्म लान सकिनँ ।’ 

नेपाल र पपुवा न्युगिनीका सर्वाधिक योगफल
पपुवा न्युगिनीविरुद्धको नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो योगफल खडा गर्न सफल भयो । नेपालले सन् २०१९ मा युएईविरुद्ध दुई सय ५५ रनको योगफल बनाएको थियो । नेपालले शुक्रबार पपुवा न्युगिनीविरुद्ध एकदिवसीय खेलमा सर्वाधिक योगफल बनाउँदा २३ चौका तथा पाँच छक्का प्रहार गरेको थियो । यसक्रममा नेपालले पपुवा न्युगिनीबाट १३ रन अतिरिक्त पायो । अर्कोतिर पपुवा न्युगिनीले पनि एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो योगफल बनाउन सफल भयो । 

नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेलले २६ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । आरिफले ६४ बलमा ३४ रन जोडे । पपुवा न्युगिनीले सन् २०१४ मा हङकङविरुद्ध दुई सय ६४ रन बनाएको थियो । आफ्नो कीर्तिमानी योगफल रक्षा गरेको पपुवा न्युगिनीले पहिलोपटक नेपाललाई हराउन सफल भयो । नेपालविरुद्ध पपुवा न्युगिनी एकदिवसीय खेलमा सर्वाधिक योगफल बनाउने टोली पनि बनेको छ । पपुवा न्युगिनीका लागि चार ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

कप्तान असाद भालाले ५५ बलमा ११ चौकाको सहयोगमा ६० रन जोडे । यसैगरी चालेर्स अमिनीले एक सय तीन बल सामना गरी ६ चौका र एक छक्का प्रहार गरी ७७ रन जोडे । छैटौँ क्रमका ब्याट्सम्यान रिलेय हेकुरेले ४० बल सामना गरी पाँच चौका प्रहार गरी ३१ रन बनाए । म्यान अफ दी म्याच भानुवाले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ४७ रन जोडेका थिए । 

पपुवा न्युगिनीका लागि असाद र अमिनीबीच तेस्रो विकेटका लागि ७० रनको साझेदारी भएको थियो । यसैगरी हेकुरे र अमिनीबीच पाँचौँ विकेटका लागि ६१ रनको साझेदारी भयो । अमिनीले भानुवासँग छैटौँ विकेटका लागि ४९ रनको साझेदारी गर्दा पपुवा न्युगिनीले आफ्नो एकदिवसीय खेलको इतिहासमै नेपालविरुद्ध सर्वाधिक योगफल बनायो । 

सोमपालको खराब बलिङ
ब्याट्सम्यान तथा टोलीले कीर्तिमान रचेको मैदानमा नेपालका फास्ट बलर सोमपालले पनि फरक रेकर्ड बनाएका छन् । तर, उनको रेकर्ड खराब रूपमा रह्यो । सोमपाल नेपालको एकदिवसीय खेलमा बलिङतर्फ सबैभन्दा बढी रन दिने खेलाडी बनेका छन् । सोमपालले नौ ओभरमा ८१ रन खर्चेर दुई विकेट लिए । सन् २०२० मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ओमानविरुद्ध कीर्तिपुर मैदानमै १० ओभरमा ६५ रन खर्चेका थिए । 

सुझावित समाचार