कांग्रेस लुम्बिनी प्रदेश सभापति भन्छन्– गठबन्धन गरे कांग्रेसको हालत ‘कांग्रेस आई’को जस्तो हुनेछ

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर जाँदा कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुने बताएका छन् । शुक्रबार जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन् ।  बैठकमा गठबन्धनबारे आफ्नो धारणा राख्न प्रदेश सभापतिहरूलाई समय दिइएको थियो । 

बैठकमा सहभागी प्रदेश १ का सभापति उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पनि आगामी निर्वाचनमा केन्द्रबाट गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । गठबन्धन गर्दा स्थानीय आवश्यकताअनुसार गर्नुपर्ने उनीहरूको तर्क छ । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीको प्रस्तावअनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस निल हुने धारणा राखेका छन् । निर्वाचनमा गठबन्धनबारे निर्णय लिने विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा  ‘गठबन्धन किन गर्ने ? गर्दा के हुन्छ ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकताअनुसार गर्ने ?’ भन्ने तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपा माओवादीले निर्वाचनमा गठबन्धन गर्दा आफूले जितेका स्थानीय तह आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नुपर्ने बताउँदै आएको छ । त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापति शाहीको भनाइ छ । 

सुझावित समाचार