विश्व बैंकको आर्थिक सहयोगमा रौतहटमा भएका विकास निर्माणका काममा चरम आर्थिक अनियमितता भएको भन्दै एक युवा पाँच दिनदेखि गौरको बिपी चोकमा उभिएर बसेका छन्। आर्थिक अनियमिततामाथि छानबिन हुनुपर्ने माग राख्दै गौरका स्थानीय युवा रघुनाथ साह पछिल्लो पाँच दिनदेखि बिपी चोकमा उभिएर विरोध जनाइरहेका छन्।
६ वर्ष दुबईमा काम गरेर नेपाल फर्केका साह आफ्नो जिल्लामा विश्व बैंकले दिएको आर्थिक सहयोगमा समेत चरम आर्थिक अनियमितता भएको भन्दै छानबिनका लागि विभिन्न निकाय धाए। तर, कतै सुनुवाइ नभएपछि स्थानीय सर्वसाधारणलाई जगाउनुपर्छ भन्दै उनी बिपी चोकमा माइकमा राष्ट्रिय गान बजाएर पाँच दिनदेखि उभिएका छन्।
देशमा प्रजातन्त्र आएपछि मात्र सहरी विकास मन्त्रालयमार्फत रौतहटमा भएको दुई सय करोड रुपैयाँको काममा चरम आर्थिक अनियमितता भएको साहको दाबी छ। जिल्लाको गौर नगरपालिका, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिकामा मात्र दुई सय करोडको काम भएको ‘कागजी घोडा दौडाएर’ आर्थिक अनियमितता गरिएको भन्दै उनले छानबिनको माग गर्दै हस्ताक्षर संकलन अभियानसमेत सुरु गरेका छन्।
सो रकमबाट बाटो र नाला ३० फिटको चौडा बनाउनुपर्नेमा कतै १८ फिट र कतै २० फिटको मात्र बनाएर अनियमितता गर्दासमेत कसैको ध्यान नगएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। बरहवा, ब्रह्मपुरी, बरहवा आँखा अस्पताल, कविर चोक–सियाप्यालेस, नर्सिङ क्याम्पस, मुडवलवालगायतका सडकको काम गुणस्तरहीन भएको भन्दै उनले छानबिनको माग गरेका छन्।
सो विषयमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आफूले जिल्ला प्रशासन कार्यालय रौतहट र सहरी विकास मन्त्रालयमा निवेदन दिँदासमेत कुनै सुनुवाइ नभएपछि आमनागरिकले आफ्नो गाउँमा भएको विकासबारे जानकारी राख्नुपर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारमाथि कारबाही होस् भन्ने हिसाबले आफू तातो घाममा उभिएर विरोधमा उत्रिएको साहले बताए।
विश्व बैंकले रौतहटका लागि दिएको अनुदानको दुई सय करोड रुपैयाँमा सहरी विकास मन्त्रालयले गरेको कामको तत्काल अनुसन्धान हुनुपर्ने साहको भनाइ छ। आफूले कुनै पार्टीको इशारामा नभएर आफ्नो जिल्लामा आउने विकास बजेटले जिल्लाको समुचित विकास होस् भन्ने ध्येयले जनता जगाउन विरोधमा उत्रेको बताएका छन्।