अभिनेता पल शाहविरुद्ध बलात्कारको दोस्रो मुद्दा दर्ता

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

शाहलाई १४ वर्षसम्म र उनका म्यानेजर कृष्ण जोशीलाई सात वर्ष सजाय माग

नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेको छ । शाहलाई १४ वर्षसम्म कैद सजायको माग गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको छ । जसअनुसार शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरिएको छ । 

‘पीडित १६ वर्ष कम उमेरको भएका कारण शाहविरुद्ध १२ देखि १४  वर्षसम्म कैद दाबीसहित मुद्दा दर्ता गरेका छौँ,’ उनले भने, ‘साथै मनासिव क्षतिपूर्तिको मागदाबी गरेका छौँ ।’ शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध सो सजायको आधा अर्थात् सात वर्ष सजाय माग गरिएको पनि उनले बताए । जोशीलाई मतियारका रूपमा शाहको भन्दा आधा सजाय मागदाबी गरिएको उनको भनाइ छ ।

गत ११ फागुनमा नाबालिगले शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । गत वर्ष वैशाखमा तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौँडामा रहेको प्रदीप थापाको घरकोठामा बलात्कार गरेको पीडितको उजुरी छ । शाहविरुद्ध यसअघि जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ ।  नवलपरासीपूर्वको एक रिसोर्टमा ७ चैत ०७७ मा आफूमाथि बलात्कार भएको दाबी गर्दै नाबालिकाले जाहेरी दिएकी थिइन् 

। एकै दिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको किशोरीको दाबी छ । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिई मुद्दा दायर गरेको थियो । शाहले सरकारी वकिल र प्रहरीसमक्ष बयानका क्रममा आफूले अभियोग अस्वीकार गरेका छन् । राति सुत्नुअघि ‘गुडनाइट भन्न किशोरी बसेको कोठाको ढोकासम्म भने गएको’ उनको बयान छ । 

शाहको मंगलबार नै जिल्ला अदालतमा बयान सुरु भइसकेको छ । बयानपछि दुवै पक्षको बहस सुनेर न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्ने आदेश दिनेछन् । 

सुझावित समाचार