बाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ। मंगलबार बसेको प्रदेश सभाको बैठकले गत पौष २१ गते प्रदेश सभामा दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको छ।
नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानुनबमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो। आज बसेको प्रदेश सभाको बैठकमा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो।
बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ।