नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाहरूको तदर्थ समिति गठनमा भएको ढिलाइबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने बताएका छन्। तदर्थ समिति गठनमा ढिलाइपछि नेविसंघ संघर्ष समितिले तत्काल तदर्थ समिति बनाउन दबाब दिँदै सानेपामा सुरु गरेको अनशनमा पुगेर उनले यस्तो बताएका हुन्।
अनशनमा सहभागी विजय महतोका अनुसार महामन्त्री थापाले अनशनस्थलमा पुगेर केन्द्रीय समितिमा छलफलपछि सबैको राय लिएर निर्णय लिने बताएका हुन्। ‘यसबारे केन्द्रीय समितिमा छलफल गर्नेछौँ र केन्द्रीय समितिमा छलफल गरी सबैको राय लिएर अगाडि बढ्नेछौँ,’ थापाको भनाइ उद्धृत गर्दै महतोले नयाँ पत्रिकासँग भने।
सोमबारबाट नेविसंघ संघर्ष समितिले सानेपामा अनशन जारी राखेको छ। समयावधि सकिँदासमेत कांग्रेसले भ्रातृ संस्थामा तदर्थ समिति गठन गरेको छैन। ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कार्यसम्पादन समितिले नेविसंघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको थियो ।
बैठकले केन्द्रीय समिति भंग भएका भ्रातृ संस्थाको फागुन मसान्तभित्र तदर्थ समिति बनाउने निर्णय गर्दैै यसको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएकोे थियो । तर, देउवाले संगठनमा आकांक्षी धेरै भएपछि समयभित्रै तदर्थ समिति गठन गर्न सकेका छैनन् ।