पानीकाे स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेकी छिन् । समस्त जीवन र जगतकाे अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पकाका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाउने गरिन्छ ।

‘पानी र प्रकृतिसँग प्राणी जगतकाे अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ,’ राष्ट्रपति भण्डारीबाट जारी सन्देशमा भनिएको छ, ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’

 ‘बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउन सक्ने जलसंकटको  चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनः भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्दछ,’ सन्देशमा भनिएको छ ।

सुझावित समाचार