एकदिवसीय खेल : युएईसँग नेपाल लगातार फराकिलो अन्तरले पराजित

एकदिवसीयमा नेपालको इतिहासकै खराब ब्याटिङ प्रदर्शन हुँदा युएईविरुद्ध एक सय दुई रनमै अलआउट भयो, यसअघि सन् २०१९ मा युएईविरुद्ध नै एक सय १३ बनाएको थियो

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण
एकदिवसीय खेल : युएईसँग नेपाल लगातार फराकिलो अन्तरले पराजित

नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेल पेभेलियन फर्कँदै । तस्बिर सौजन्य : क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय खेलमा अहिलेसम्मकै खराब ब्याटिङ प्रदर्शन गरेपछि सोमबार आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईसँग ९९ रनले पराजित भएको छ । युएईमा चलिरहेको त्रिकोणात्मक सिरिजमा नेपालको खराब ब्याटिङ निरन्तर चलिरहेको छ । सिरिजअन्तर्गत ७१औँ खेलमा पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल ३१.१ ओभरमा एक सय तीन रनमै समेटियो । 

युएईविरुद्ध सोमबार जोडेको स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको अहिलेसम्मकै कम योगफल हो । जसका कारण नेपालले रनअन्तरमा अहिलेसम्मकै ठूलो हारको सामना गरेको छ । नेपालको एकदिवसीय खेलमा कम स्कोर एक सय १३ रन थियो । सन् २०१९ जनवरीमा युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा एक सय १३ रनमा अलआउट भएको थियो । सो खेलमा युएई तीन विकेटले विजयी भएको थियो । 

सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि दुई विकेटको जित निकालेको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल युएईसँगै ४९ रनले पराजित भएको थियो । युएईविरुद्धको दोस्रो खेलमा नेपालले एकदिवसीय खेलमा कम स्कोर बनाउँदा सात ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । घरेलु भूमिमा युएईले मध्यम योगफल रक्षा गर्ने क्रममा फास्ट बलर जुनिद सिद्दिकीले २३ रन खर्चेर चार विकेट हात पारेका थिए । 

उनले आफ्नो स्पेलमा दुई मेडन ओभर राखेका थिए । यसैगरी खसिफ र अहमेद राजाले दुई–दुई विकेट लिए । नेपालले पहिलो पाँच विकेट ५४ रनभित्र गुमाएको थियो । नेपालका ओपनर पवन सराफ र कुशल भुर्तेलले दोहोरो रन नै बनाएनन् । चालू सिरिजमा पहिलोपटक ओपनिङ ब्याटिङ अवसर पाएका पवनले दुई रन तथा खराब फर्मबाट गुज्रिरहेका कुशलले पाँच रन मात्र जोडे ।

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सामना गरेको बलमै आउट भए ।  खराब ब्याटिङ प्रदर्शन भएको नेपालको इनिङ्समा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । उनले ६५ बलमा दुई चौकाको सहयोगमा ३० रन जोडे । नेपालका लागि आरिफ सेखले १५ रन तथा सोमपाल कामीले पनि १५ रन नै बटुले । तेस्रो खेलमा मौका पाएका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले १६ बलमा दुई चौकाको सहयोगमा १२ रन बनाए । नेपालको ब्याटिङ इनिङ्समा कुनै पनि विकेटका लागि गतिलो साझेदारी भएन । 

यसअघि पहिलो ब्याटिङ गरेको युएईका शीर्ष तीन ब्याट्सम्यानबीच गतिलो साझेदारी भएको थियो । ओपनर मोहमद वासिम र चिराग सुरीले पहिलो विकेटका लागि १५.६ ओभरमा ५७ रनको साझेदारी गरेका थिए । वासिमले ५१ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३३ रन जोडेका थिए । चिरागले ५४ बलमा तीन चौका प्रहार गरी २६ रन बनाए । रोहन मुस्तफाले वसिल हमिदसँग पाँचौँ विकेटका लागि ४५ रन जोडेका थिए ।

रोहनले ७३ बलमा सर्वाधिक ६० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा दुई चौका र एक छक्का प्रहार गरे । नवौँ क्रमका ब्याट्सम्यान अलिसान सराफुले १३ बलमा तीन चौका प्रहार गरी २१ रनको योगदान दिए ।बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । सोमपाल र करणले समान दुई विकेट हात पारे । दीपेन्द्रसिंह र आरिफ सेखले समान एक विकेट लिए । सोमबार खेलपछि युएईले १८ खेलबाट २२ अंक जोडेको छ । शीर्ष स्थानमा ओमानले २८ खेलबाट ३६ अंक बनाएको छ । नेपालले ११ खेलबाट १० अंक मात्र जोडेको छ । नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । 

सुझावित समाचार