२३औँ फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेलमैदानमा हुने भएको छ। फ्लोरिकल्चर एसाेसिएसन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गते बिहीबारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जानकारी गराएको हो।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रर्दशनी गरिने एसाेसिएसनका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए।
एक्स्पोमा चार अफिसिएल स्टल, दुई प्रतियोगितात्मक स्टल र ५६ व्यावसायिक स्टलसहित ६२ स्टल रहनेछन्। स्टलमा रहेका फूलका बिरुवाहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद र शिल्डसहित प्रमाणपत्र प्रदान गरिने एक्स्पो आयोजक समितिले जनाएको छ।
फ्लोरिकल्चर एसाेसिएसन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सम्पन्न हुने मेलाको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन्। एक्स्पोमा ४५ हजार बढीले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।