सिराहाको सुखीपुर नगरपालिका– १० गागनखोला किनारमा झुपडी बनाएर बस्दै आएकाे छ गणपैत मरिकको परिवार। खोला किनारमा बस्दै आएका उनको घरमा पालेका ११ सुँगुर शनिबार बिहान मृत भेटिए। शुक्रबार होली मनाएर राति चारो दिएर सुतेका उनीहरू भोलिपल्ट चारो दिन जाँदा सबै सुँगुर मृत भेटिएका हुन्।
आफूहरूलाई बसिरहेको ठाउँबाट उठीबास गराउन अनेक षड्यन्त्र गर्दा पनि नसकेपछि आफूहरूले पालेको सुँगुरलाई विष खुवाएर मारिएको पीडित परिवारको भनाइ छ। ‘पटकपटक घर हटाउन दबाब दिँदै आएका थिए,’ पीडित ४८ वर्षीय गणपैतले भने, ‘आफ्नै जग्गा नहुँदा सुनसान खोला किनारमा झुपडी बनाएर बसेँ। मूल्य बढेपछि जग्गा दाबी गर्नेहरूले भनेको नमान्दा खोरमा पालेको सुँगुर नै मारिदिए।’
सुँगुर बेचेर उनीहरूले घर–व्यवहार र औषधि उपचारका लागि लिएको करिब साढे ६ लाख रुपैयाँ ऋण तिर्ने योजना बनाएका थिए। करिब दुई हप्तापछि ब्याउने अवस्थामा रहेको एकसहित तीनवटा माउ र आठवटा बच्चा खोरमै मरेको भेटिएपछि पीडितकी पत्नी ४३ वर्षीया सुमित्रादेवी मरिक छाँगाबाट खसेझैँ भएकी छिन्। ‘शुक्रबार श्रीमान् बिरामी परेर उपचारका लागि छिमेकी गाउँ जानुभएको थियो। होली मनाएपछि राति सुँगुरलाई चारो दिएर सुत्यौँ। भोलिपल्ट चारो दिन जाँदा त ११ वटै मरेको भेटियो,’ उनले भनिन्।
तुहियो नातिनीको विवाह गर्ने योजना
मरेको माउ र पाठाको मात्र हिसाब निकाल्दा पनि करिब सवा दुई लाख रुपैयाँको क्षति भएको मरिक परिवारले बताएको छ। मरेका माउका १२ मध्ये आठ पाठा मरिसकेका छन् भने चार पाठा पनि दूध चुस्न नपाएर मर्ने सम्भावना रहेको छ।
गोलबजार नगरपालिका– १३ भेलाहा गाउँमा बस्न सकस भएपछि करिब नौ वर्षअघि उनीहरू छिमेकी सुखीपुर– १० गागनखोला किनारको ऐलानी जग्गामा बस्दै आएका थिए। ‘चोकमा बस्ती नरहेकै वेला श्मशान घाटमा झुपडी बनाएर बसेँ,’ उनले भने, ‘त्यतिवेला कसैले केही भनेनन्। अहिले जग्गा महँगो भएपछि नदी उकासको ऐलानी जग्गा पनि दाबी गर्दै मलाई हटाउन नसकेपछि सुँगुर मारिदिए।’ सुँगुरको बच्चा बेचेर नातिनीको विवाह गर्ने योजना तुहिएको उनले गुनासो गरे।
घर हटाउन पटकपटक दबाब
कसहा औरही सहायक सडकमा पर्ने गागनखोलाको पुल पार गरेलगत्तै बायाँ किनारमा झुपडी बनाएर १४ जनाको मरिक परिवार बस्दै आएको छ। ‘पहिले चोक सुनसान हुँदा गाउँमा मरेकाहरूलाई जलाउने चिहान थियो,’ उनले भने, ‘अहिले जग्गाको मूल्य बढेपछि सानो जातले घरअगाडि सुँगुर पालेर बस्न पाइँदैन अन्यत्र जाऊ भन्दै पटकपटक दबाब दिँदै आए। नसकेपछि पालेको सुँगुरलाई निशाना बनाए।’
सुँगुरलाई विष हालेर मारेको भन्दै घटनामा संलग्नहरूको खोजी गरी कारबाही र क्षतिपूर्तिको मागसहित पीडित मरिकले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए। ‘सुँगुरलाई विष हालेर मारेको भन्ने पीडितको उजुरी परेपछि मधेस प्रदेश सरकारसँग समन्वय गरी मरेको सुँगुरको पोस्टमार्टम गरिएको छ,’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने।
पशु चिकित्सकबाट पोस्टमार्टम
बाराको कलैयास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका पशु चिकित्सक डा. सञ्जीवकुमार ठाकुर र सिराहा विज्ञ केन्द्रबाट आएका तीन पशु प्राविधिकसहितको टोलीले आइतबार मरेकामध्ये एउटा सुँगुरको पोस्टमार्टम गरेको छ। ‘मरेको करिब ३६ घन्टा भएकाले तीनवटा माउमध्ये दुईवटा त गनाइसकेकाले एउटाको मात्र पोस्टमार्टम गरी कलेजो, आन्द्रा र बोसोको नमुना परीक्षणका लागि धरानस्थित विधि विज्ञान प्रयोगशाला पाठाएका छौँ,’ डा. ठाकुरले नयाँ पत्रिकासँग भने, ‘बाँकी रहेकामध्ये तीनवटा माउलाई दुई–दुई बोतल स्लाइन चढाइएको छ।’
पीडित परिवारको खोरमा बिरामी रहेका सुँगुरको एक हप्तासम्म नियमित उपचारका लागि मन्त्रालयमार्फत सिराहा विज्ञ केन्द्रलाई जिम्मेवारी दिइएको उनले बताए। उनका अनुसार त्यसमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्नेछ।