माओवादी अध्यक्ष प्रचण्डले अरू दलहरू आसन्न निर्वाचनमा माओवादीसँग सहकार्य गर्न आउने दाबी गरेका छन् । देशभरको सबै स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्नेतर्फ उन्मुख रहेकोसमेत उनको भनाइ छ । प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा प्रचण्डले एक महिनाभित्र अरू दलहरू माओवादीसँग तालमेल गर्र्न आइपुग्ने दाबी गरेका हुन् ।
‘हामी अरू दलसँग तालमेल गर्न जाने होइन, अरू दल हामीसँग तालमेल गर्न आउँछन् । हेर्नुहोला, एक महिनाभित्रमा हामीसँग सहकार्य गर्न अरू दल आउनुपर्ने बाध्यता हुन्छ,’ उनले भने । उनले अरूको बैसाखी टेकेर नभई माओवादी आफ्नै खुट्टामा टेकेर निर्वाचनमा जाने योजनामा रहेको बताए । देश परिवर्तनको वाहक माओवादी मात्र हो भन्ने चेतना आउँदै गरेको चर्चा गर्दै उनले थपे, ‘गणतन्त्र, संघीयता र परिवर्तनको रक्षा कसले गर्यो भनेर जनताले हेरिरहेका छन् ।
एकपटक माओवादीलाई हेर्नुपर्छ भन्ने जनमत बढिरहेको छ ।’ ०६४ को संविधानसभा निर्वाचनमा आफूहरूलाई कसैले नपत्याएको, तर जनताले झन्डै बहुमत दिएर देखाइदिएको उनले जिकिर गरे ।