सर्लाहीमा जारी छैटाैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको फुटबल क्लब एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन अन्तिम चारमा प्रवेश गरेको छ।
शनिबार बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति मैदानमा भएको खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै विदेशी पाहुना टोली क्यामरुनी क्लब विजयी भएको हो। सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको खेल अवधिभर दुवै टोली १–१ को अवस्थामा पुगेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियोे।
टाइब्रेकरमा एपिएफका तीन खेलाडीको प्रहार क्यामरुनका गोलकिपर रोड्रिग्वेले सहजै विफल तुल्याइदिए। क्यामरुनका चार खेलाडीको प्रहार सहजै गोलमा परिणत भयो। खेलको ३७औँ मिनेटमा रोनीको गोलबाट क्यामरुनले खेल १–० को अवस्थामा पुर्याएको थियो। मार्टिनको क्रसपासमा रोनीले गोल गरे। त्यसपछि क्यामरुनले एपिएफमाथि लगातार दबाब सिर्जना गर्याे।
क्यमरुनले पहिलो हाफको इन्जुरी समयमा डिबक्सनजिकै अवसर बनाएको थियो, तर सदुपयोग गर्न सकेन। १–० को झिनो अन्तरले अगाडि बढेको क्यामरुन दोस्रो हाफपछि पनि निरन्तर आक्रामक मुडमा देखियो। कडा प्रतिस्पर्धात्मक देखिएको खेलमा एपिएफका पाँच र क्यामरुनका ६ खेलाडिले पहेँलो कार्ड पाए। खेलको ८८ र ८९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै क्यामरुनका दुई खेलाडी इटोका र जस्पिन मैदानबाट बाहिरिए। त्यसपछि इन्जुरी पाँच मिनेटको खेलमा क्यामरुन ९ खेलाडीमा सीमित भएको थियो।
खेलको ८२औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको एपिएफले हार भने टार्न सकेन। एपिएफका लागि विश्वास उदासको क्रसपासमा सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए
खेलको पहिलो मिनेटमै एपिएफका युवराज खड्का क्यामरुनका गोलकिपर एलिनसँग वान टु वानको अवस्थामा पुगे। खेलको १२औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फर्स्ट बारनजिकैबाट बाहिरियो। खेलको इन्जुरी समयमा क्यामरुन नाै खेलाडीमा समेटिएको अवस्थामा पनि एफिएफले दबाबको अवस्था बनाउन सकेन।
एफिएफका गोलकिपर कुर्यामाले क्यामरुनका खेलाडीको केही सशक्त प्रहार विलफल तुल्याए। जितसँगै क्यामरुनले चैत ९ गते हुने अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिगविजेता मच्छिन्द्र फुटबल क्लबसँगको भेट पक्का गरेको छ। शनिबारको खेलको म्यान अफ दी म्याच एभिनिएर फुटबल क्लबका गोलकिपर रोड्रिग्वे चुनिए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे।