प्युठानमा पाँचौँ राष्ट्रिय हाप्किडोे च्याम्पियनसिप–२०२२ सुरु भएको छ। नेपाल मार्सल आर्टस् हाप्किडो संघ प्युठानको आयोजनामा भवानीश्वरी आधारभूत विद्यालय जस्पुरमा शनिबारदेखि हाप्किडोे च्याम्पियनसिप सुरु भएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ राष्ट्रिय हाप्किडोे च्याम्पियनसिप आयोजना गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए। प्रतियोगितामा सात प्रदेश र नेपाल पुलिस क्लबका विद्यार्थीसहित आठ टिमको सहभागिता रहने घर्तीको भनाइ छ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वग्रामीण तथा सहरी विकासमन्त्री एवं प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले गरेका हुन्। प्रतियोगिता सोमबारसम्म चल्नेछ।
प्रतियोगिताको उद्घाटनमा शुभकामना दिँदै मन्त्री रिजालले खेलले राष्ट्र निर्माणमा टेवा पुग्ने उल्लेख गर्दै खेलकुद विकासका लागि आफूले सकेको सहयोग गर्न तत्पर रहेको बताए।