मोटरसाइकलमा राखेर दैनिक एक सय ४५ लिटर दूध बिक्री

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

आजकालका अधिकांश युवा खेतीपातीमा भन्दा व्यापार, मनोरञ्जन र पैसा कमाउन बिदेशतिर जान मन पराउँछन् । स्वदेशमा रोजगारीको कमीले धेरै युवा पढाइ नै छोडेर बिदेश गइरहेका छन् । तर, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ कुबिन्डेखोलाका २४ वर्षीय युवा सुजन श्रेष्ठले स्वदेशमै रोजगारी सिर्जना गरेका छन् । 
कृषि पेशा अंगालेका श्रेष्ठले भैँसीपालन गरेर परिवारमात्रै होइन गाउँका दुई परिवारलाईसमेत रोजगार प्रदान गरेका छन् । उनले आधुनिक युनिक कृषि तथा पशुपालन फर्म स्थापना गरेका छन् । बैंकबाट १० लाख कर्जा लिएर फर्मको भौतिक संरचना निर्माण गरिएको हो । फर्ममा तराइका मुर्रा र स्थानीय लाउरी भैँसी छन् । १४ वटा भैँसीको स्याहारसुसारका लागि गाउँकै दुई महिला खटिन्छन् । ती महिलाका छोराछोरी पढाउन, खानाबस्नको सुविधासहित एकजनालाई मासिक १५ हजार पारिश्रमिक दिने गरिएको छ । 

बिहान चार बजेबाट सक्रिय हुने श्रेष्ठ फर्ममा आफ्नै भैँसीबाट संकलन हुने ७५ र नजिकै रहेको डेरीबाट ७० लिटर दूध जम्मा गरेर बिक्रीका लागि घरबाट निस्कन्छन् । दूध बिक्रीका लागि उनले एउटा मोटरसाइकल किनेका छन् । बिहानदेखि मध्यान्हसम्म मोटरसाइकलमा राखेर घरघर दूध पुर्याउँछन् । एक लिटर दूधको मूल्य १०० छ । दूध बेचेर उनले दैनिक १३ हजार कमाउँछन् ।

बिहान सबेरैदेखि कुविन्डे, चौतारा, गौराती र स्याउलेका घरघरमा दूध लाने उनको दैनिकी छ । ‘हाम्रो गाउँ कृषिका लागि उत्तम ठाउँ हो । बिदेश गएर अरुको कमारो बन्नुभन्दा स्वदेशको माटोलाई माया गर्दा सून फलाउन सकिन्छ,’ उनले भने । कृषिलाई आधुनिक बनाउन सकियो भने आम्दानी बढ्छ र स्वरोजगार सिर्जना गर्न सकिने उनको अनुभव छ ।  श्रेष्ठको फर्मको कमाइ मासिक तीन लाख हुन्छ । भैँसीलाई ढुटोपिठो ९० हजार, पारिश्रमिक ३० हजार, पेट्रोल खर्च २० हजार र बैंकको किस्ता गरी दुई लाख ५० हजार खर्च हुन्छ । श्रेष्ठले पनि मासिक ५० हजार कमाउँछन् । घरका परिवारले पनि मनग्ये दूध पिउन पाउँछन् । 

See More On

सुझावित समाचार