राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् । शुक्रबार ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने वेला आएको बताए ।
लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रस्ट पार्दै राप्रपाको महाधिवेशनपछि आमजनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन् ।
सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरे ।
बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालयसमेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रूपान्तरित भएको बताए ।