ललितकलाका कलाकारहरूले होलीको अवसरमा काठमाडौंको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्य क्यानभासमा उतारेका छन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा कलाकारले काठमाडौं उपत्यकाका दृश्यलाई क्यानभास र आर्ट पेपरमा उतारेका हुन्।
समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङले समाजको संस्कृति र कला एकअर्कामा अन्तरसम्बन्धित हुने भएकाले पनि संस्कृति र पर्वमा कला सिर्जनाले नयाँ आयाम थपिदिने बताए। ‘होली पर्वको अवसरमा शुभकामना आदानप्रदान पनि भयो। रङको फेस्टिभलमा रङसँग जोडिएर केही गरौँ भन्ने भावनाका साथ कार्यशाला आयोजना गरेका हौँ,’ उनले भने, ‘काठमाडौं सहर थरिथरिका रङले सजिएका छन्। मानिस मात्रै होइन सडक, चोकचौतारा, घर बगैँचा नै रंगिन भएको छ। यसलाई क्यानभासमा उतारेका छौँ।’
पर्वको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको उनले बताए। यस्ता पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ।
टोखाको भ्यू–थलीबाट देखिने उपत्यकाको दृश्य लोभलाग्दो पनि छ। पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ। यस्ता कार्यशालाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले रंगिन सहरको परिकल्पना गरेका थिए। उनले यो दिन रङको उत्सव भएकाले त्यसमा कल्पना गरेर आफूलाई आनन्द दिने रंगिन सहरको कला सिर्जना गरेको बताए।
कार्यशालमा कलाकारहरू गुरुङसहित, डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, प्रकाश मानन्धर, सुरेश स्याङ्तान, किरण सिगु, राजेन्द्र याकमी, नेमबहादुर तामाङ, उमेशचन्द्र अधिकारी, भीम श्रेष्ठलगायतले जलरङमार्फत दृश्यलाई क्यानभासमा कैद गरेका थिए।