‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

म्याग्दी र मुस्ताङमा बसोवास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारको संख्यामा बसोवास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका सचिव योगेन्द्रमान शेरचनले बताए । 

‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृहरूलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’ शेरचनले भने, ‘आफन्तलाई बोलाएर मिठा–मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उदगमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोवास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) सुरु भएको छ ।

तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको सिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रूपमा मान्यता पाएको छ । 

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली समुदायका अगुवा गोपाल भट्टचनले बताए ।  एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । 

पछिल्लो समय अन्य धातुकाे समेत धनुष बनाउने गरिएको छ । एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएका आधारमा खेलको मूल्यांकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो । 

सुझावित समाचार