फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली मनाइँदै छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहाेर पानीले भरिएका बेलुनले हिर्काउने विकृतिको अन्त्य भएको छ । सडकमा कामविशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहाेर पानी छ्यापेको देखिँदैन ।
विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घरपरिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागु पर्वमा चीरोत्थानको परम्परा

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै वेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन् ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।
कुन देशमा कसरी मनाइन्छ फागु ?
फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’को नामले मनाइने यो पर्वमा एक–आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रंगीचंगी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । श्रीलंका र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक–फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सदभाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ । नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।