विश्वकप लिग–२ : नेपालले आज पपुवा न्युगिनीको सामना गर्ने

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण
विश्वकप लिग–२ : नेपालले आज पपुवा न्युगिनीको सामना गर्ने

युएईको सारजाहा क्रिकेट एकेडेमीमा अभ्यास गर्दै नेपाली खेलाडी । तस्बिर : क्यान

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध सामना गर्दै छ । लिग–२ आगामी वर्ष (सन् २०२३ ) भारतमा हुने एकदिवसीय विश्वकपको छनोट बाटो हो ।  युएईमा हुने प्रतियोगिताका लागि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । श्रीलंकाली भूमिमा तयारीपछि नेपाली टोली युएई पुगेको हो ।

श्रीलंकामा खेलिएका सुरुवाती तीन अभ्यास खेलमा नेपालको ब्याटिङभन्दा बलिङ पक्षमा उत्कृष्ट थियो । श्रीलंकाको संयुक्त ११ टोलीविरुद्ध नेपाल ब्याटिङ र बलिङमा चुकेको थियो । टी–२० विश्वकप ग्लोबल छनोटदेखि नै नेपालको ब्याटिङमा एकरूपता आउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी तथा कुशल भुर्तेलबाहेक अन्य ब्याट्सम्यान फर्ममा आउन संघर्षरत छन् । नेपाली टोलीमा करण केसी, सोमपाल कामी, रोहितकुमार पौडेल र भीम सार्की फर्किएका छन् । 

सिरिजमा कुशलको प्रदर्शन महत्वपूर्ण रहनेछ । यसैगरी उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंह ऐरी पनि नेपालको ब्याटिङको आशा गरेका खेलाडी हुन् । अलराउन्डरको भूमिकामा आरिफ शेख, पवन सर्राफ र विवेक यादव रहनेछन् । बलिङमा सबै खेलाडी उत्कृष्ट फर्ममा छन् । नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दा ब्याटिङमा व्यापक सुधारको आवश्यकता छ । युवा कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीले त्रिकोणात्मक सिरिजमा ब्याटिङ केन्द्रित भई प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । 

पपुवा न्युगिनी अंक तालिकाको पुछारमा
पपुवा न्युगिनीले पछिल्लो सिरिजमा ब्याटिङ तथा बलिङमा राम्रो गर्न सकिरहेको छैन । न्युगिनी अंक तालिकाको पुछारमा छ । पपुवा न्युगिनीले १२ खेल खेल्दा एक अंक पनि बटुलेको छैन । प्रतियागितामा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र युएई गरी सात टोलीले भारतमा हुने विश्वकपका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ओमान शीर्ष स्थानमा छ । 

होम एन्ड अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कम्तीमा ३६ एकदिवसीय खेल खेल्ने छ । विश्वकप लिग–२ मा रहने शीर्ष तीन टोली एक दिवसीय विश्व कपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । पुछारका चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बीबाट आउने शीर्ष दुई टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्ले अफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउनेछन् । 

 लिग–२ मा  नेपालको तेस्रो सिरिज
विश्वकप लिग–२ मा नेपालले तेस्रो सिरिज खेल्न लागेको हो । नौमध्ये दुई सिरिज जितेको नेपाल आठ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ । दुवै सिरिजमा नेपालले समान दुई खेलमा जित हात पारेको थियो । दुई खेलमा पराजित भएको थियो । 

शीर्ष स्थानमा रहेकोे ओमानले २८ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक हात पारेको छ । तेस्रो स्थानको युएईले १४ खेलबाट १६ अंक जोडेको छ । 

चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक छ । पाँचौँ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ । छैटौँ स्थानको नेपालले आठ खेलबाट आठ अंक जोडेको छ । 
 

सुझावित समाचार