सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल)का कारण उत्पन्न विवाद चाँडै समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेका छन् । न्युरोड टिम (एनआरटी), मनाङ–मस्र्याङ्दी, थ्री स्टार र संकटा क्लबले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै एनएसएलको विषयमा देखिएको विवाद समाधान गर्न एन्फासमक्ष माग राखेका हुन् । क्लबमा आबद्ध खेलाडीलाई एनएसएलको अक्सनमा राखिएकोप्रति क्लबहरूले असन्तुष्टि जनाए । एनएसएलको अक्सन वेला नै आठ ए डिभिजन क्लबले संयुक्त रूपमा एन्फालाई पत्र पठाएका थिए ।
फ्रेन्ड्स, जावलाखेल, सातदोवाटो, मच्छिन्द्र, एनआरटी, मनाङ, थ्री स्टार तथा एनआरटीले एनएसएलको अक्सन रोक्नुपर्ने माग राख्दै एन्फालाई पत्र पठाएका थिए । एन्फाले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेपछि चार क्लबले मात्र एनसएसएलको विषयलाई लिएर पत्रकार सम्मेलन गरेका हुन् । सयुक्त पत्रकार सम्मेलनमा लिग च्याम्पियन मच्छिन्द्र, फ्रेण्ड्स, जावलाखेल र सातदोबाटो उपस्थित भएन ।
‘एनएसएलको विषयमा एन्फाले उचित ढंगले सम्बोधन गरोस्, आपसी छलफलबाट निष्कर्ष निस्कन सक्छ,’ थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले पत्रकार सम्मेलनमा भने । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले चैत अन्तिम सातादेखि दोस्रो नेपाल सुपर लिग आयोजना गर्दै छ । एनएसएलमा ए डिभिजन क्लबकै खेलाडी सहभागी हुने भएकाले उनीहरूले असन्तुष्टि जनाएका हुन् । क्लबसँगको सम्झौता अवधि बाँकी रहेका खेलाडीलाई आफूहरूसँग समन्वय नगरी एनएसएलमा सहभागी गराउनु उचित नभएको उनीहरूको संयुक्त भनाइ छ ।
२० फागुनमा एनएसएलको अक्सन भएको थियो । असन्तुष्ट चार क्लबले आफूहरूले पनि खेलाडीको राम्रो चाहेको भन्दै विवाद समाधान गरी अघि बढ्नुपर्ने बताएका छन् । ‘हामीलाई नै फुटबलविरोधी भनिएको छ, एनएसएलमा संलग्न कर्पोरेट हाउसलाई पनि भ्रममा पार्ने काम रहेको छ,’ शिल्पकारले भने, ‘उनीहरूलाई पनि प्रस्ट पार्नुपर्छ, हामी विवादित पक्ष वार्ताबाटै समाधान होस् भन्ने चाहन्छौँ ।’
एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीले खेलाडीलाई २०८० सम्म सम्झौता गरिसकेको भन्दै आफ्ना खेलाडी अर्को लिगमा खेलाउँदा पनि ए डिभिजन क्लबलाई बेवास्ता गरिएको बताए । क्लबहरूले ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको जनाएका छन् । क्लबसँग सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि खेलाडी अक्सन गर्नु नियमविपरीत भएको चारै क्लबको धारणा रहेको छ ।
‘क्लबसँग खेलाडीको सम्झौता बाँकी नै छ, साथै क्लबलाई जानकारी नै नदिई खेलाडी बोलकबोल गर्नु आपत्तिजनक हो,’ थ्री स्टारका महासचिव शिल्पकारले भने । अक्सनका वेलामा एन्फाले क्लबहरूसँग औपचारिक छलफलसमेत नगरेको उनको भनाइ छ । सो पत्रकार सम्मेलनमा सहभागी क्लबले अवस्था आए आफूहरूले एन्फामा रहेको निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने जनाए । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर एन्फा महासचिव हुन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशी एन्फा सहमहासचिव र मनाङका सदस्य विजय घले एन्फा सदस्य हुन् ।
संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा ए, बी र सी डिभिजनका क्लब, जिल्ला फुटबल संघको भविष्य पनि समाप्त हुन सक्ने आशंका रहेकाले यथाशीघ्र एन्फा पदाधिकारीहरूको बैठक बसी क्लबहरूलाई आश्वस्त पार्न उनीहरूले एन्फा नेतृत्वलाई सचेत गराएका छन् ।