राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले राप्रपालाई आशाको नजरले हेरिरहेको दाबी गरेका छन् । शुक्रबार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताए ।
भ्रष्टाचार देश विकासको मुख्य बाधकको रूपमा रहेको र यो महारोगको रूपमा देखिएको उल्लेख गरे। कांग्रेस, एमाले, माओवादी दलीय रूपमा मात्रै अलग हुन्, ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको उल्लेख गर्दै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरे ।
लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमूल सुधार गर्नुपर्नेमा जोड दिए । राष्ट्रियता र जनजीविकाको सवालमा सरकार कमजोर बनेको उल्लेख गर्दै लिङ्देनले पेट्रोलियम पदार्थ, खाद्य सामाग्रीलगायत उपभोग्य वस्तुमा मूल्यवृद्धि भएर जनजीवन कष्टकर बनिरहँदा सरकार प्रभावहीन बनेको बताए ।