एलिनाको अर्जुनदृष्टि

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

नेपालको महिलातर्फको राष्ट्रिय च्याम्पियन एलिना महर्जनको नाम जतिवेला आउँछ, त्यसै पनि उनकी भाउजू नविता श्रेष्ठको पनि नाम आउँछ । यी दुवै खेलाडी एकै घरका सदस्य हुन् । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले धेरै वर्षअगाडि नयाँ बजारको परिवारमा टेबलटेनिस खेल के भित्र्याए, त्यसका परिवार सबै खेलाडीजस्तै बने । जस्तो, एलिना र अन्य दुई दिदी–बहिनी । पछि त्यस घरमा नविता पनि भित्रिइन् । 

त्यसअगाडि पनि नविता च्याम्पियन थिइन् । त्यो पनि लगातार आठपटकको कीर्तिमानी उपाधि उनले हात पारेकी थिइन् । पछिल्ला पाँच अवसरमा नविता च्याम्पियन हुँदा एलिना उपविजेता रहेकी थिइन् । को जित्यो, को हार्यो, त्यो आफ्नो ठाउँमा छ, तर एलिना छिन् र पो नविता पनि छिन् । भनिरहनुपर्दैन, नेपाली टेबलटेनिसले पाएका उत्कृष्ट महिला खेलाडीमध्ये एक हुन्, एलिना । उनको नाममा दक्षिण एसियाली खेलकुद (साग) मा जितेको दुई कांस्य छ । उनले १२औँ सागमा डबल्स र १३औँ सागमा टिम इभेन्ट्समा कांस्य जितेकी थिइन् । 

नविता आफै पनि पिपल्स च्वाइस अवार्ड जितिसकेकी खेलाडी हुन् । यसपल्ट नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोर्टस् अवार्डको यही विधाको मनोनयमा परेकी छिन्, एलिना । अब प्रश्न उठ्छ, के एउटा परिवारका दुई सदस्यले पिपल्स च्वाइस अवार्ड जितेको कीर्तिमान बन्न सक्छ त ? एलिनामै फर्कने हो भने उनलाई आफ्नो खेलमा के राम्रो छ र के नराम्रो छ, त्यो राम्रैसँग थाहा छ । अन्तर्राष्ट्रिय स्तरमै पनि केही गर्न सकिन्छ भन्ने उनको भनाइ छ । अझ ठ्याक्कै भन्दा अहिलेका लागि अर्जुन दृष्टि छ उनको, नेपाल च्याम्पियन हुनेमा । 

उनलाई राम्रोसँग थाहा छ, पिपल्स च्वाइस अवार्ड जित्नका लागि उनका साथीभाइ उठ्नुपर्छ, सिंगै नेपाली टेबल टेनिस जुरमुराउनुपर्छ । उनकै आफ्नै परिवारको सहयोग त चाहियो नै, दाइ राकेशको पनि । भाउजू नविताको पनि । फेरि उनी नेपाल प्रहरीसँग आबद्ध खेलाडी पनि हुन् । नेपाल प्रहरीले पनि उनलाई आम खेल प्रेमीमाझ लोकप्रिय खेलाडी बन्न उत्तिकै धेरै मद्दत गर्न सक्छ ।

See More On

सुझावित समाचार