एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटेल गु्रपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र प्लाजा होटेल गु्रपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । १८औँ संस्करणको पल्सर अवार्ड आउँदो आठ चैतमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ ।
सह–प्रायोजक बनेपछि प्लाजा होटेल गु्रपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गरेका छन् । मञ्चका अध्यक्ष सुवेदीले प्लाजा होटेल गु्रपलाई धन्यवाद दिएका छन् ।
स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।