एक अर्बमा बेच्न ‘डिल’ भएको युरेनियम पाँच महिनाअघि नै काठमाडौं ल्याइएको थियो

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

तारागाउँस्थित होटेल हायातको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको युरेनियमजस्तो देखिने धातु पाँच महिनाअघि नै काठमाडौं ल्याइएको खुलेको छ । कारोबारमा संलग्न कांग्रेस ललितपुरका नेता नवराज महतसहित आठजनालाई प्रहरीले २ फागुनमा पक्राउ गरेको थियो । 

प्रहरीले बरामद गरेको युरेनियमजस्तो देखिने धातु ।

प्रहरीका अनुसार बरामद युरेनियमजस्तो देखिने धातु भारतीय नागरिक ६३ वर्षीय उपेन्द्रकुमार मिश्रले गत १४ असोजमा भारतको गयाबाट काठमाडौं ल्याएका थिए । त्यसअघि उनको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का रामकृष्ण लामिछाने र सिरहा लक्ष्मीपुर पतरी गाउँपालिका–३ का गोपीलाल दाससँग टेलिफोनमार्फत युरेनियम बिक्रीका विषयमा पटक–पटक वार्ता भएको थियो । महँगो मूल्यमा बिक्री हुने पक्का भएपछि उनले त्यो धातु जनकपुर हुँदै थानकोट नाकाबाट काठमाडौं भित्र्याएका थिए । काठमाडौंमा बिक्री गर्ने जिम्मा भने कांग्रेस ललितपुरका नेता महतले लिएका थिए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले महँगो मूल्यमा बिक्री हुने प्रलोभनमा बरामद धातु एक सय ४० दिनअघि नै काठमाडौं भित्रिएको बताए । ‘युरेनियमजस्तो देखिने धातुको अनुसन्धान सकिएको छैन । यो एक सय ४० दिनअघि नै काठमाडौं ल्याइएको देखिन्छ । महँगो मूल्यमा बिक्री गर्ने उनीहरूको योजना थियो । बरामद धातु युरेनियम भए–नभएको रिपोर्ट भने आइसकेको छैन,’ उनले भने ।

प्रहरीका अनुसार बरामद धातु उनीहरूले बौद्ध जोरपाटी नारायणटार शव चोकस्थित एएनजे होटेलमा लुकाएर राखेका थिए । धातु लुकाउन उनीहरूले होटेलको ४०२ र ४०४ नं.को दुईवटा कोठा असोजको दोस्रो सातादेखि नै बुक गरेका थिए । खरिद गर्न चाहने ग्राहकलाई उनीहरू काठमाडौंका पाँचतारे होटेलमा बोलाउँथे । सँगै लिएर गएको धातु देखाउँथे । रकमको डिल गर्थे । कुरा नमिलेपछि बुक गरी राखिएको होटेलको कोठामा धातुलाई पुनः लगेर लुकाउँथे । यस क्रममा उनीहरूले होटेल सोल्टी र होटेल मेरियटमा पटक–पटक ‘डिल’ गरेको अनुसन्धानबाट खुलेको छ ।  

एसपी दिनेश मैनाली, प्रवक्ता महानगरीय प्रहरी परिसर काठमाडौं
युरेनियमजस्तो देखिने धातुको अनुसन्धान सकिएको छैन । यो एक सय ४० दिनअघि नै काठमाडौं ल्याइएको देखिन्छ । महँगो मूल्यमा बिक्री गर्ने उनीहरूको योजना थियो । बरामद धातु युरेनियम भए–नभएको रिपोर्ट भने आइसकेको छैन ।

‘उनीहरूले युरेनियमजस्तो देखिने धातु बिक्रीका लागि ग्राहकलाई तारे होटेलमा बोलाएर देखाउने गर्थे । धातुको मूल्य महँगो राखेका थिए । कुरा नमिलेपछि धातुलाई बुक गरी राखिएको होटेलस्थित कोठामा पुनः लगेर राख्थे । यो क्रममा धेरैपटक चलेको देखिन्छ,’ काठमाडौं  परिसरका प्रवक्ता एसपी मैनालीले भने । खरिदकर्ता र विक्रेताबीच ‘डिल’ भएअनुसार बरामद धातुको मूल्य झन्डै एक अर्ब (९८ करोड) रुपैयाँ पर्छ । प्रहरीका अनुसार बरामद धातुको परिमाण दुई किलो आठ सय ग्राम छ । उक्त धातु प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न दुई पक्षबीच ‘डिल’ हुँदै थियो । घटनामा पक्राउ आठजना २२ दिनदेखि प्रहरी हिरासतमा छन् ।

यसरी काठमाडौं आइपुग्यो युरेनियमजस्तो देखिने धातु 
सत्तारुढ दल कांग्रेस ललितपुरका नेता महत घरमै थिए । चिनजानमा रहेका सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने ‘युरेनियम’ बिक्रीको प्रस्ताव लिएर आइपुगे । एक अर्ब रुपैयाँको कारोबार हुने र बिक्रीबाट प्राप्त रकम दामासाहीमा बाँडिने लामिछानेको प्रस्तावले महत सोच्न बाध्य भए । आउँदो चुनावका प्रत्यासी उनलाई खर्चको आवश्यकता थियो । घरमै आएको अवसरलाई उनी खेर फाल्ने पक्षमा देखिएनन् । सरकार आफ्नै पार्टीको भएकाले उनी झन् हौसिए । र, लामिछानेलाई ‘युरेनियम’ काठमाडौं ल्याउन भने । लामिछानेको नियमित सम्पर्कमा थिए भारत बिहारस्थित गयाका उपेन्द्रकुमार मिश्र र सिरहा लक्ष्मीपुर पतारीका गोपीलाल दास । उनले युरेनियम काठमाडौं ल्याउन भने । महँगोमा बिक्री हुने भएपछि उपेन्द्रकुमार युरेनियम बोकेर जनकपुर आए । गोपीलाल र सिरहाकै ५५ वर्षीय जिवछनारायण यादवको सहयोगमा युरेनियम बोकेर काठमाडौं आए । 

नारायणटारस्थित शिवचोकमा बस्थे महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी । उनकै सहयोगमा युरेनियम लुकाउन शिवचोकस्थित एएनजे होटेलको ४०२ र ४०४ नं.को दुईवटा कोठा बुक गरे । र, युरेनियम लगेर सोही कोठामा राखियो । विकिरणबाट हुने असरका कारण युरेनियमलाई नांगो आँखाले हेर्न सकिँदैन । त्यसैले प्रकाश नछिर्ने गरी छालाको कालो झोलाभित्र प्याकिङ गरिएको थियो । युरेनियम हेर्न भन्दै कांग्रेस नेता महत होटेल पुगे । धातु युरेनियम नै रहेको निष्कर्षपछि उनी ग्राहकको खोजीमा जुटे । उनीसँगै पक्राउ परेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का भूपेन्द्र खड्का र महोत्तरी एकडारा–६ बगैया कलुवाका राजु ठाकुर यहीक्रममा जोडिन आइपुगेका हुन् । 

पटक–पटकको प्रयासपछि पक्राउ परे अभियुक्त 
काठमाडौंमा युरेनियमको कारोबार हुँदै गरेको सूचनापछि नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी टोली गोप्य ढंगले परिचालित भयो । कारोबारमा संलग्न अभियुक्तको पहिचान भयो । ब्युरोको टोली रंगेहात पक्राउ गर्न चाहन्थ्यो अभियुक्तलाई । त्यसैले करोबारमा संलग्न हुनेहरूको सूक्ष्म निगरानीमा थियो प्रहरी । यहीक्रममा होटेल सोल्टीमा युरेनियम बिक्रीको डिल हुँदै गरेको सूचना ब्युरोको टोलीले पायो । टोली गोप्य ढंगले घटनास्थल पुग्यो । दुई पक्षबीच युरेनियम बिक्रीको डिल चल्यो । प्रहरी सोही ठाउँमा उनीहरूलाई पक्राउ गर्ने योजनामा थियो । तर, युरेनियम घटनास्थल नभएका कारण पक्राउ गर्ने योजना त्यतिकै तुहियो । त्यसपछि नक्सालस्थित होटेल मेरियटमा बिक्रीका लागि डिल हुने सूचना प्रहरीसमक्ष पुग्यो । ब्युरोको टोली घटनास्थल पुग्यो । दुई पक्षबीच डिल भइरहेको थियो । तर, यहाँ पनि युरेनियम नल्याएको हुँदा अभियुक्तलाई रंगेहात पक्राउ गर्ने प्रहरीको योजना असफल बन्न पुग्यो ।

होटेल हायातमा युरेनियमको पुनः डिल भइरहेको सूचनापछि ब्युरोको टोली तुरुन्तै घटनास्थल पुग्यो । घटनास्थलमा दुई पक्षबीच डिल चलिरहेको थियो । युरेनियम ल्याइएको पक्का भएपछि प्रहरीले घटनास्थलबाट कांग्रेस नेता महत र सिन्धुपाल्चोकका भूपेन्द्र खड्कालाई पक्राउ गर्‍यो । सोधपुछपछि युरेनियम होटेलकै पार्किङ क्षेत्रमा पार्किङ गरी राखिएको गाडीमा रहेको खुल्यो । नभन्दै बा.५प ८२०९ नम्बरको कारभित्र छालाको कालो झोलामा प्याक गरी राखिएको अवस्थामा युरेनियमजस्तो देखिने धातु बरामद भयो । प्रहरीका अनुसार धातु बरामद भएको कार नेता महतकै हो ।  

सुझावित समाचार