सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन्।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताएका हुन्।
सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टीपंक्तिलाई उनले आह्वानसमेत गरे। अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे।
त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष नेपालले दुईपटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहोर्याए। एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रिय सभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए।