‘परदेशी–२’ आगामी दसैँमा, फर्स्टलुक पोस्टर सार्वजनिक

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

बहुप्रतीक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दसैँमा प्रदर्शनमा आउने भएको छ । नारायण इन्टरनेसनल प्रा.लि.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्र आगामी विजयादशमीमा प्रदर्शनमा आउने भएको हो । निर्माणपक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दसैँमा प्रदर्शन गर्ने घोषणा गरेको हो । 

सार्वजनिक पोस्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन । र, यो चलचित्र परदेशीकै कथा–व्यथा भएकाले प्रदर्शनका लागि दसैँलाई रोज्नुपरेको हो,’ निर्माता राजेश वंशलले भने । 

रमेश बिजीको कथा रहेको चलचित्रमा प्रकाश, दिलीप, प्रशान्त, केकी र वर्षाका साथमा नीर शाह, सुशील पोख्रेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देवेन्द्र बब्लुलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।अत्यन्तै प्रतिकूल समयमा पनि दर्शकको अत्यधिक माया पाएका ‘गोर्खापल्टन’ र ‘परदेशी’ चलचित्रपछि नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा ‘परदेशी–२’ निर्माण भएको हो । 

‘विगतका चलचित्रमा देखिएका, तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिकलगायतका कमी–कमजोरीलाई समेत यो चलचित्रमा मसिनो गरी केलाउन पाएका छौँ,’ निर्देशक रायमाझीले भने, ‘त्यसैले विगतका दुई चलचित्रहरूको दाँजोमा ‘परदेशी –२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसात् गर्ने चलचित्र बनेको छ ।’ 

बिबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतले स्वर दिएका छन् । सुदीप कुँवरको सहनिर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे–रामहरि डंगोलको पोस्टप्रोडक्सन, मनोज श्रेष्ठको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको गीत तथा साउन्ड मिक्सिङ छ ।
 

सुझावित समाचार