वेलनेस’ मूलतः महिलाका लागि खपत गरिन्छ । हामी महिलालाई आफ्नो स्वास्थ्य, खुसी र जीवनका लागि व्यक्तिगत रूपमै जिम्मेवारी लिन सुझाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा हामीले यस लेखमा महिलाको स्वास्थ्य र खुसी व्यक्तिगत छनोटमा निहित हुन्छ भन्ने ‘वेलनेस’ र वैयक्तिक जिम्मेवारीको नवउदारवादी भाष्यलाई केलाएका छौँ । ‘वेलनेस गुरुहरू’ले वा चर्चित उद्योगी महिला ग्वेनेथ पल्ट्रो वा इन्स्टाग्रामका इन्फ्लुएन्सरले जेसुकै सल्लाह दिऊन् वा भनून्, हामी ‘वेलनेस’ले वास्तविक रूपमा ‘स्वस्थ’लाई जनाउँदैन भन्ने तर्क गर्छौँ ।
शब्दकोशीय अर्थ स्वस्थ रहेको अवस्था भए पनि अंग्रेजी शब्द ‘वेलनेस’का अन्य बहुआयामिक अर्थ छन् । ‘वेलनेस’ एक उद्योग हो । ‘वेलनेस’ महिलालाई आफ्ना समस्याबाट विचलित गराउने मनमोहक पासो पनि हो । यसले महिलाको वास्तविक स्वास्थ्यलाई प्रभाव पार्ने संरचनागत मुद्दालाई उपेक्षा गर्छ । यी संरचनागत मुद्दाको समाधान टर्मरिक ल्याटे (बेसार हालेको दूध कफी) वा ह्यासट्याग ‘लिभिङ योर बेस्ट लाइफ’ले गर्दैन ।
‘वेलनेस’ ४४ खर्ब डलरको अनियन्त्रित वैश्विक उद्योग हो र सन् २०२५ सम्ममा करिब ७० खर्ब डलरसम्म पुग्ने देखिन्छ । यस उद्योगले आत्म–सहयोग, आत्म–हेरचाह, तन्दुरुस्ती र आध्यात्मिक अभ्यासलाई प्रोत्साहन गर्छ । यसबाहेक उद्योगले असल छनोट, नियत र कामका लागि प्रेरित गर्छ । सशक्त महसुस गराउने भएकाले ‘वेलनेस’ आकर्षक छ । महिलालाई आफ्नो जीवन आफैँले नियन्त्रण गरिरहेको छु भन्ने भान हुन्छ । बिकराल अनिश्चितता र सीमित वैयक्तिक नियन्त्रणका समयमा ‘वेलनेस’ थप आकर्षक छ । अर्थात् ‘वेलनेस’को आकर्षण सम्बन्धविच्छेद, वित्तीय अप्ठ्यारा, कार्यस्थलमा हुने विभेद वा वैश्विक महामारीका समयमा बढेको देखिन्छ । वास्तवमा ‘वेलनेस’ले स्वस्थ रहेको अवस्था जनाउँदैन । ‘वेलनेस’ले महिलामा त्रुटि छन् र यसको निवारण गर्नुपर्छ भन्ने अर्थ दिन्छ । यसले व्यक्तिगत परिस्थिति जे भए पनि महिलाले आफ्नो मानसिक संकट समाधान गरोस्, जीवनमा सुधार ल्याओस् र दुःखबाट पार पाओस् भन्ने अपेक्षा गर्छ । आत्म–उत्तरदायित्व, आत्म–सशक्तीकरण र आत्म–अनुकूलनले महिलाले कसरी सोच्ने र व्यवहार गर्ने भनेर निर्धारण गर्छ । ‘वेलनेस’ले महिलालाई कृपा गर्छ र लेखन, ध्यान, योगलगायत कामसँगै दैनन्दिनको कार्यतालिकालाई सूक्ष्म व्यवस्थापन गर्छ ।
‘वेलनेस’ले महिलालाई आहार र व्यायामका माध्यमबाट आफूलाई सुन्दर देखाउन, आफ्नो व्यवस्थापन गर्न, काममा राम्रो प्रदर्शन गर्न, तिलस्मी ढंगले पेसा एवं जीवनमा सन्तुलन कायम गर्न र मनोवैज्ञानिक दबाबलाई थेग्न भावनात्मक रूपमा प्रोत्साहन गर्छ । यसका लागि अत्यधिक महँगा लाइफ कोच, मनोचिकित्सक र सेल्फ–हेल्प गाइड्सको आवश्यकता पर्छ ।
‘वेलनेस’ले आफूलाई स्वस्थ देखाउन महिलालाई आफ्नो शरीरमा ध्यान दिन माग गर्छ, तर यसले स्वस्थ रहने छनोट र कामका लागि कति मूल्य चुकाउनुपर्छ भन्ने बताउँदैन । समाचार वाचिका र पत्रकार ट्रेसी स्पाइसरले काम गर्ने ठाउँमा आफ्नो कपाल ‘ग्राह्य देखियोस्’ भनेर पछिल्ला ३५ वर्षमा एक लाख अस्ट्रेलियाली डलर खर्च गरेको बताएकी छिन् । ‘वेलनेस’ले महिलालाई आफ्नो रूपमा केन्द्रित गराउँछ र निरन्तर खर्च गराइराख्छ । वास्तवमा ‘वेलनेस’ सक्षमतावादी, नश्लभेदी, लिंगभेदी, आयुभेदी र वर्गभेदी अवधारणा हो । यसले एक आदर्श महिलाको कल्पना गर्छ, जहाँ महिला युवा, पातलो, गोरो, मध्यमवर्गीय एवं शारीरिक रूपमा सक्षम हुन्छिन् ।
‘वेलनेस’ले सबै महिलासँग उल्लिखित आदर्श पूरा गर्न समान समय, ऊर्जा र धन हुन्छ भन्ने कल्पना गर्छ । यदि समय, ऊर्जा र धन छैन भने तपाईं ‘कोसिस नै गरिरहनुभएको छैन’ । ‘वेलनेस’ले महिलालाई ‘अनुकूल र सकारात्मक’ हुन आग्रह गर्छ । यदि कुनै एक महिलाको सकारात्मकता र खुसीलाई नैतिक रूपमा ग्राह्य ठानिन्छ भने त्यसले अरू महिलालाई तथाकथित रूपमा आफ्नो शरीरमाथि ‘लगानी’ वा ‘आत्म–हेरचाह’ गर्न नैतिक ढंगले संलग्न हुन आवश्यक बनाउँछ । र, यी नैतिक कसीमा आफूलाई स्व–अनुकूलन गर्न नसक्नु असफलता हो । स्मरण रहोस्, अधिकांश मानिस स्व–अनुकूलन गर्न सक्दैनन् ।
जब महिलाले आफ्नो परिस्थितिका लागि आफैँ दोषी भएको विश्वास गर्छन्, तब संरचनागत र सांस्कृतिक असमानता विलुप्त हुन्छन् । महिलालाई सीमान्तकृत गर्ने र सन्देह एवं अपर्याप्तताको भावना उत्पन्न गर्ने संस्कृतिमाथि प्रश्न उठाउनुको सट्टा ‘वेलनेस’ले सतही सशक्तीकरण, आत्मविश्वास र लचिलोपनको समाधान दिन्छ । वास्तवमा महिला असुरक्षित छन् र महिलालाई ‘वेलनेस’को आवश्यकता छैन ।
महामारीले बढाएको जोखिमको अवस्था र बढ्दो घरेलु हिंसामा महिला थप प्रताडित छन् । महिलामा विभिन्न अवैतनिक घरेलु काममै जीवन बिताउन र सेवानिवृत्तिका वेला घरविहीन हुने सम्भावाना बढी रहन्छ । बेलायती शोधकर्ता सानी ओर्गाड र रोसालिन्ड गिलले आफ्नो पुस्तक कन्फिडेन्स कल्चरमा ‘लव योर बडी’ र ‘बिलिभ इन योरसेल्फ’ जस्ता ह्यासट्याग सामाजिक अन्यायबाट निःसृत नभई मनोवैज्ञानिक तगाराका कारण आउँछन् भन्ने देखाएका छन् । ‘वेलनेस’को स्व–सहायताको भाष्यले महिलाको सुरक्षा, न्यायको सुनिश्चितता, सम्मान र मर्यादाको प्रत्याभूतिका लागि चाहिने रूपान्तरण एवं प्रभावकारी जिम्मेवारीबाट सरकारलाई विमुख बनाइदिन्छ । संरचनात्मक असमानता एकजनाले सिर्जना गरेका होइनन् र एकजनाबाट समाधान पनि हुँदैन । तसर्थ, यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन आफ्नो स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने नवउदारवादी आवश्यकताको प्रतिरोध गरौँ । संरचनागत असमानतालाई सम्बोधन गर्न सरकारलाई दबाब दिऊँ । आफ्नो आक्रोशलाई पछ्याऊँ र जहाँ सकिन्छ, त्यहाँ अन्यायविरुद्ध आवाज मुखर गरौँ । र, यौन उत्पीडनबाट बाँच्न सफल अधिवक्ता ग्रेस टेमका शब्दलाई सापटी लिने हो भने ‘मेक सम नोइज’ अर्थात् आवाज बुलन्द गरौँ । द कभर्सेसनबाट