३० वैशाखमा एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरियो रङको चुनाव चिह्न हुने भएको छ । स्थानीय निर्वाचनका लागि आवश्यक मत्रपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
‘स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ,’ आयोगबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ । ७४ सालको स्थानीय तह निर्वाचनमा सेतो कागजमा निलो रङका चुनाव चिह्नहरू थिए भने स्वस्तिक छाप पनि निलो रङकै थियो ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले उज्यालो कम भएको अवस्थामा वा रातिको समयमा मतगणना गर्दा चिह्नहर प्रस्ट नदेखिने हुँदा गणकहरूलाई अप्ठ्यारो भएको महसुस हुन आएकाले आयोगले यस्तो निर्णय गरेको बताए । 'अब हरियो रङको प्रयोग गर्ने भनेर निर्णय भएको छ । स्वस्तिक छाप निलो रङकै हुन्छ । स्वस्तिक छापको चिह्न र निर्वाचन चिह्नको विभेद प्रस्ट होेस् भनेर प्राविधिक रूपमा सुझाव आएको हुँदा यो निर्णय गरेका हौँ,’ सहप्रवक्ता अर्यालले भने ।