दीप श्रेष्ठको ‘पुनर्जन्म’ सेलिब्रेसन गर्न सरगम साँझ

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

कोभिड संक्रमणबाट जीवनमरणको दोसाँधमा पुगेर फर्किएका वरिष्ठ गायक दीप श्रेष्ठले ‘पुनर्जन्म’ भएको भन्दै सांगीतिक कार्यक्रम गर्ने भएका छन् । भरतपुर–१३, चम्पानगर÷ देवनगरस्थित लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (एलटिके) हवेलीले ११ चैतमा उनको ‘पुनर्जन्म’ सेलिब्रेसन गर्न सांगीतिक कार्यक्रम आयोजना गरेको हो । 

सांगीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठले भने, ‘पहिलेको जस्तो गाउन सक्छु कि सक्दिन, चितवनमा हुने सरगम साँझले मेरो पनि परीक्षण गर्नेछ । पहिले एकै बसाइमा ५० वटा गीत गाउँथेँ, यसपटक भने करिब दुई घन्टा निरन्तर गीत गाउने तयारीमा छु । मेरा लागि अहिलेको जीवन पुनर्जन्म नै हो । आउनुहोस्, मेरो पुनर्जन्ममा रमाऔँ ।’

गायन रियालिटी सो भ्वाइस अफ नेपाल चलिरहेकै वेला गायक श्रेष्ठलाई कोभिड–१९ संक्रमण भएको थियो । तीन साताभन्दा बढी अस्पतालमा भर्ना भएका श्रेष्ठ मृत्युलाई जितेर फर्किएका थिए । 

उनका अधिकांश गीत नाच्ने खालका हुँदैनन् । उनका गीतले मान्छेलाई रुवाउँछन् । उनले भने, ‘मेरा गीतले श्रोताका अतितलाई सम्झाउँछन् । तर, यसपटक दर्शक नचाउने गीत गाउने प्रयासमा छु ।’ कम्तीमा २० वटा गीत गाउने उनको योजना छ ।

०२० सालदेखि नेपाली सांगीतिक आकाशमा उदाएका श्रेष्ठ संगीतकार तथा रचनाकारका रूपमा पनि स्थापित छन् । म त दूरदेखि आएँ तिम्रो नाम बोकेर ..., गुराँसको फूल सिउरी..., मेरी मायालु..., हर रात सपनीमा ऐँठन हुन्छ लगायतका थुप्रै चर्चित गीत श्रेष्ठले गाएका छन् । 

‘एलटिके सरगम साँझ २०७८’ नाम दिइएको कार्यक्रममा दृष्टिविहीन कलाकारहरू चिरीमाया महर्जन र अमला महर्जनको पनि सहभागिता रहनेछ । आयोजकले यो कार्यक्रमलाई स्व. गायक तथा कलाकार जयनन्द लामाप्रति समर्पण गरेको छ ।

एलटिके फार्मका सञ्चालकद्वय देवेन लोहनी र सीता गुरुङले वरिष्ठ गायक श्रेष्ठको नयाँ जीवनलाई सेलिब्रेसन गर्न कार्यक्रम आयोजना गरेको बताए । सांगीतिक क्षेत्रका जिउँदा हस्ती श्रेष्ठप्रति सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । यसअघि नै कार्यक्रमको मिति तोकिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो । 

दीप श्रेष्ठ नाइटमा सहभागी हुन चाहनेलाई टिकट अनिवार्य गरिएको कार्यक्रमका प्रवद्र्धक राजेश शर्माले बताए । उनका अनुसार विभिन्न सेवासहित एक हजार र १५ सय टिकट मूल्य तोकिएको छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको यस रिट्रिटले एक दशकदेखि चितवन आउने पर्यटकलाई सेवा दिँदै आएको छ ।

सुझावित समाचार