पदाधिकारी चयन र चुनावकेन्द्रित कार्ययोजनामा केन्द्रित, एमसिसी मुद्दालाई प्रवेश गराउने श्रेष्ठ पक्षको तयारी
एमसिसी अनुमोदनसँगै पार्टीभित्र उत्पन्न विवादका बीच माओवादीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै छ । आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समिति बैठक बस्न थालेको हो ।
पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पुनः बस्न थालेको हो । शुक्रबार दिउँसो ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठकले संगठन र आगामी कार्यभारका विषयमा छलफल गर्नेछ ।
पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठकमा मुख्यतः पार्टी पदाधिकारी र निर्वाचनलगायत अन्य भावी कार्यभार तय गर्ने विषयमा छलफल हुनेछ । ‘महाधिवेशन सकेपछि बसेको पहिलो केन्द्रीय समिति बैठक पुनः बस्ने गरी स्थगित भए पनि कोरोना महामारी र राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन । त्यसैको निरन्तरता बैठक बस्दै छ,’ उनले भने, ‘त्यसैले पहिला नै तय एजेन्डामा छलफल हुनेछ । विशेष गरी पार्टी पदाधिकारी र भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।’ उनले पार्टी नेतृत्वले गृहकार्य गरेको हुँदा थप विषयमा पनि छलफल हुन सक्ने बताए । वैशाखमा स्थानीय तहको निर्वाचन हुन थालेकाले बैठकले चुनावी कार्ययोजना पनि बनाउनेछ ।
गत ११ पुसदेखि सुरु भएर झन्डै एक हप्तापछि सम्पन्न माओवादीको आठौँ महाधिवेशनमा पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति मात्रै घोषणा गरेर सकिएको थिए । त्यसपछि लगत्तै १९ पुसमा बसेको केन्द्रीय समितिले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा दोहो¥याउने निर्णय गरेको थियो ।
त्यसबाहेक अन्य पदाधिकारीका विषयमा सहमति नजुटेपछि पटक–पटक तय भएका बैठक स्थगित हुँदै आएका छन् । माओवादीले यसै बैठकलाई निरन्तरता दिन ८ र ९ माघमा मिति तय गरे पनि पछि स्थगित गरेर २८ माघका लागि तय भएको थियो । सोही वेला पनि कोरोना कारण देखाउँदै स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।
माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सातजना उपाध्यक्ष, एकजना महासचिव, दुईजना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष रहने प्रावधान छ । पार्टीमा शक्तिशाली मानिने महासचिव को बन्ने भन्नेमा नेताहरूको दौडधुप चलिरहेको छ ।
एमसिसी विवाद मत्थर पार्ने प्रयास
एमसिसी मुद्दामा देखिएको विवाद चर्कंदै गएपछि माओवादीभित्र यसलाई मत्थर पार्ने प्रयास सुरु भएको छ । एमसिसी संसद्बाट पारित गर्ने सत्ता गठबन्धनको निर्णयमा पार्टी अध्यक्ष प्रचण्डले एकलौटी सहमति जनाएको भन्दै नेता नारायणकाजी श्रेष्ठ पक्ष असन्तुष्ट बनेको छ । श्रेष्ठ पक्षले उक्त विषय केन्द्रीय समिति बैठकमा लैजाने गरी आन्तरिक छलफल तीव्र पारेको छ ।
अध्यक्ष प्रचण्डले पनि विवादलाई बाहिर छताछुल्ल पार्नुभन्दा बैठकमा नै आफ्ना विषय राख्न श्रेष्ठसँग आग्रह गरेका छन् । प्रचण्डले गत मंगलबार र बिहीबार मात्रै श्रेष्ठको निवासमा नै पुगेर भेटेका छन् । श्रेष्ठले एमसिसी अनुमोदन भएसँगै पार्टीमा देखिएको आन्तरिक मतभेदप्रति सचेत हुन सार्वजनिक आग्रह गरेका छन् ।
उनले सञ्चारमाध्यमलाई पार्टीमा भएको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले प्रचार नगर्नसमेत सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् । मतभेद चर्किएर माओवादी विभाजन हुन लागेको विषयमा चर्चा हुन थालेपछि उनले प्रचण्ड र आफूबीच छलफल भइरहेको बताएका छन् । ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ नेता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’ श्रेष्ठले असन्तुष्टि केन्द्रीय समितिमा राख्ने र छलफल हुन नदिए बैठकबाट बाहिरिने मनस्थिति बनाएका छन् ।