मिथिला माध्यमिकी परिक्रमा सुरु

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ। बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको छ

१५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरू जम्मा भएका छन्। मिथिला महात्मका अनुसार मिथिलामा बृहत्, मध्यमा र अन्तरगृहसहित तीनवटा परिक्रमा हुने गर्छ। मध्यमा र अन्तरगृहमा लाखौँको सहभागिता हुने गरेको छ।

नेपालको एक सय सात किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल एक सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ। फागुन प्रतिपदाका दिन भक्तजनहरू कलाणेश्वर पुग्छन्। एक रात पहिले नै अमावश्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ।

हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर–पूर्वी क्षेत्रमा पर्छ। कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ। १२ किलोमिटर दूरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ।

दोस्रो वास महोत्तरीको मटिहानीमा हुन्छ। तेस्रो दिन जलेश्वर, चौथो दिन मड़ै, पाँचौँ दिन ध्रुवकुण्ड, छैटाैँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति हुन्छ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरू पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरू अन्तरगृहमा सहभागी हुने गर्छन् । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख छैन। भगवान् गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रूपमा लिने गरिन्छ।

सुझावित समाचार