पाँचौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) १७ चैतदेखि सुरु हुने भएको छ । महोत्सव राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा पाँच दिनसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । महोत्सव अवधिभरमा ३८ देशका ८९ वटा चलचित्रहरू प्रदर्शन हुनेछन् ।
महोत्सवमा सहभागी फिचर फिल्म, सर्ट फिल्म र वृत्तचित्र मध्येबाट उत्कृष्ट चयन गर्न पाँच निर्णायक समिति रहनेछन् । समितिमा नेपालबाट दीपक बज्राचार्य, शिवम् अधिकारी, संगीता श्रेष्ठ, पुरु लम्साल, सूर्य श्रेष्ठ र यादव भट्टराई रहनेछन् । विदेशी निर्णायक समितिका सदस्य चयनका लागि छलफल भइरहेको महोत्सव अयोजकले जनाएको छ । महोत्सवमा ‘मास्टर क्लास’को लागि भारतीय फिल्ममेकर राजकुमार हिरानीसँग वार्ता भइरहेको अध्यक्ष पाठकले बताए ।
‘अघिल्लो वर्ष कोरोना महामारी कारण भर्चुअलमै सीमित रहेको महोत्सव यसपटक भौतिक उपस्थितिमा आयोजना गर्ने अवसर मिलेको छ । यसले चलचित्रकर्मीलाई थप उत्साह मिल्ने विश्वास लिएको छु,’ उनले भने । महोत्सवमा सिनेमाका विभिन्न विषयमाथि प्यानल छलफलसमेत हुनेछ ।
कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महामारीपछि भौतिक उपस्थितिमा हुन लागेको महोत्सवले चलचित्र क्षेत्रलाई चलायमान बनाउन मद्दत गर्ने बताए । ‘दुई वर्षयता चलचित्रका गतिविधि अघि बढ्न सकिरहेका थिएनन् । भौतिक उपस्थितिमा महोत्सव हुनु यो क्षेत्र अब चलायमान हुन थाल्नु हो । यस्ता महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न मद्दत पुग्छ,’ उनले भने ।
अध्यक्ष दाहालले यस्ता महोत्सव चलचित्र विकास बोर्डले नै आयोजना गर्ने गरी पहल भइरहेको पनि बताए । ‘यस्तो महोत्सव विकास बोर्डले नै गर्नुपर्ने हो । यसका लागि सञ्चार मन्त्रालयमा प्रस्ताव पेस भइसकेको छ । चाँडै नै स्वीकृत हुन्छ भन्ने अपेक्षा छ,’ अध्यक्ष दाहालले भने ।
चलचित्र निर्देशक निर शाहले यस्ता महोत्सवले चलचित्र क्षेत्रलाई विकास र विस्तार गर्न सहयोग पुग्ने बताए । ‘निफलाई पहिलो संस्करणदेखि नै नियाल्दै आइरहेको छु । निकै संघर्ष गर्दै यहाँसम्म आउँदा परिस्कृत हुँदै आएको छ,’ उनले भने । महोत्सवमा प्रदर्शन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रका सात विधामा १४ चलचित्र पुरस्कृत हुनेछन् ।