बाग्लुङमा गत वर्ष हात्तीपाइले रोग निवारणको औषधि खुवाउने अभियान अन्तिमपटक भनेर सञ्चालन गरिएको थियो । जिल्लाभरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइयो । अन्तिम अभियानका रूपमा दशवटै स्थानीय तहले सक्रियताका साथ औषधि खुवाउने अभियान सञ्चालन गरे । औषधि खुवाउने अभियानको ६ महिनापछि स्वास्थ्य मन्त्रालयसहितको टोलीले जिल्लामा सर्वेक्षण गर्याे ।
दुई स्थानको सर्वेक्षणपश्चात् जिल्लालाई हात्तीपाइले रोग निवारण भएको जिल्लाको रूपमा घोषणा गर्ने योजना थियो, तर सर्वेक्षणमा पुनः १० जनामा हात्तीपाइले रोगको परजीवी भेटिएपछि यस वर्ष पनि आमऔषधि खुवाउने अभियान सञ्चालन गर्नुपर्ने भएको छ । जिल्लामा अहिलेसम्म १३औँ पटक हात्तीपाइले रोग निवारणअन्तर्गत औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने भएको छ ।
तीन सयजनामा परीक्षण गर्दा १० जनामा परजीवी
हात्तीपाइले निवारण हुन नसकेपश्चात् जिल्लाभरि नै पुनः औषधि खुवाउने अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । जिल्लाको बाग्लुङ नगरपालिका– १४, नारायणस्थान र जैमिनी नगरपालिका– १ कुश्मिसेरामा नमुना परीक्षण गरिएको थियो । नारायणस्थानमा तीन सयजनामा गरिएको परीक्षणमा आठजनामा परजीवी भेटियो भने कुश्मिसेरामा तीन सयजनामा गरिएको परीक्षणमा दुईजनामा परजीवी भेटिएको थियो ।
पहिलो सर्वेक्षणमा नै कुल परीक्षण गरिएकामध्ये २.६६ प्रतिशतमा परजीवी भेटिएपछि १३औँपटक औषधि खुवाउने अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । यी दुई ठाउँमा मात्र परजीवी देखिए पनि विश्व स्वास्थ्य संगठनको नियमअनुसार जिल्लाभर नै पुनः औषधि खुवाउने अभियान सञ्चालन गर्नुपरेको हो ।
‘लगातार ६ वर्ष औषधि खुवाएपश्चात् यसको सर्वेक्षण थालिएको हो । सन् २०१४ देखि जिल्लामा निरन्तर सर्वेक्षण थालिएको छ । कार्यालय प्रमुख गुरौले भने, ‘२०१४ मा तीन प्रतिशत रहेको जिल्लाको तथ्यांक २०२१ सम्म पनि २.६६ प्रतिशतभन्दा तल हुन सकेन । दुई प्रतिशतमा नझरेसम्म नियमित औषधि खुवाउनुपर्नेछ ।’
एक ठाउँमा देखिए पनि जिल्लाभरि नै औषधि खुवाउनुपर्ने, परीक्षणका क्रममा एक ठाउँमा मात्र देखिए पनि एक मान्छेबाट अर्कोमा पनि सर्ने जोखिम भएकाले जिल्लाभर नै फागुन २८ गतेदेखि औषधि खुवाउने अभियान सञ्चालन गर्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘पहिले जस्तो यति दिन भन्ने छैन, सबै ठाउँमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउनेछौँ,’ स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन्, ‘जनसंख्या र भूगोलअनुसार दिन लम्बिन सक्छ, तर सबै ठाउँमा लक्ष्य तय गरेका छौँ ।’
शर्माले परजीवी भेटिएका वडामा औषधि खुवाउने व्यक्तिलाई कार्ड नै वितरण गरेर सबैलाई अनिवार्य गर्ने र औषधि खुवाउने अभियान सञ्चालन गर्ने बताइन् । एक व्यक्तिले खाने र अर्कोले नखाने भएमा पनि यसको जोखिम बढ्ने हुँदा सबैलाई अनिवार्य गर्नका लागि वडा कार्यालयहरूले कडाइ गर्ने पनि उनले बताइन् ।
दुई लाख ९३ हजारलाई औषधि खुवाइने
हात्तीपाइले रोग निवारणको सुनिश्चितताका लागि कुल जनसंख्याको कम्तीमा दुई प्रतिशतभन्दा तल पुर्याउनुपर्दछ । ‘उचेरिया बाक्रोप्टी’ नामक ब्याक्टेरियाबाट लाग्ने हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ । जिल्लामा जम्मा तीन लाख ११ हजार नाै सय २२ जनसंख्यामध्ये दुई लाख ९३ हजार चार सय २५ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइनेछ । अभियानमा दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा सात दिनभित्रकी सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामीबाहेक सबैले उमेर समूहअनुसार डिइसी चक्की र जुकाको औषधि खानुपर्नेछ ।
हात्तीपाइलेसँगै जिल्लामा हाइड्रोसिलका बिरामी पनि धेरै छन् । जिल्लाभरि हालसम्म एक सय ६२ जनामा हाइड्रोसिल भएको देखिए तापनि नाैजनाले बाहेक यसको सफल उपचार नगरेको कार्यालयको तथ्यांक रहेको छ । हाइड्रोसिल पनि हात्तीपाइलेकै लक्षण मानिन्छ ।
धेरै वर्ष पहिलेदेखि अभियान सञ्चालन गरिए पनि सर्वसाधारणले निरन्तर औषधि नखाँदा यो समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउने अभियानका लागि गैरसरकारी संस्था फेयरमेड नेपाल र बिवाइसी बाग्लुङले सहयोग गरेका छन् ।