प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौता अनुमोदनका लागि व्याख्यात्मक घोषणा प्रस्तुत गरेपछि सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् । अर्थमन्त्री शर्माले पेस गरेको व्याख्यात्मक घोषणाको छलफलमा सांसदहरू सहभागी भएका हुन् ।
छलफलमा भाग लिँदै सांसद सुरेन्द्रबहादुर कार्कीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउनुपर्ने बताए । उनले नेपालले दीर्घकालीन विकास रणनीतिको घोषणा बनाउनुपर्ने र विकासका लागि आफ्नो प्राथमिकता निश्चित गर्नुपर्ने बताए ।
सांसद पार्वतीकुमारी बिशंखेले अर्थमन्त्री शर्माले पेस गरेको व्याख्यात्मक घोषणा हुबहु पारित गरेर अमेरिकाले पनि हुबहु कार्यान्वयनमा लानुपर्ने बताइन् । सो घोषणा कार्यान्वयन नभए यो सम्झौतामा नेपाल सहभागी नहुने उनको भनाइ छ ।
सांसद दुर्गा पौडेलले एमसिसी सम्झौता राष्ट्रियता र सार्वभौमिकताको खिलापमा रहेको बताइन् । एमसिसीलाई मतदानद्वारा खारेज गर्नुपर्ने उनको भनाइ छ।
सांसद भीम रावलले व्याख्यात्मक घोषणालाई भ्रमात्मक घोषणाको संज्ञा दिए । एकपक्षीय घोषणा गर्नु केवल नेपाली जनतालाई ठग्नु भएको उनले बताए ।
सांसद राजकिशोर यादवले व्याख्यात्मक घोषणाले एमसिसीबारेको भ्रम चिर्ने बताए । अमेरिकाले अनुदान दिएको भए पनि यसलाई दुई देशबीचको सन्धि सम्झौतासँग तुलना गरिएको भन्दै उनले यो केवल अनुदान रहेको बताए ।
सांसद मीन विश्वकर्माले एमसिसीबारे भ्रमको बिस्कुन छरिएकोमा व्याख्यात्मक घोषणाले भ्रम निवारण हुने बताए । एमसिसी अनुदान सम्झौता पारित गरेर आगामी दिनमा ऋण घटाउने र अनुदान बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।