पर्यटन विकासका लागि २५ करोडभन्दा बढी लागतमा रेसुंगा सर्किट

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

रेसुंगाकै गर्जुरा क्षेत्रमा आकर्षक पर्यटकीय पार्क निर्माणको काम अगाडि बढेको छ । पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुंगाको बीचमा ‘गर्जुरा रेसुंगा पर्यटन पार्क’ निर्माण हुँदै छ । ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण हुने रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने गौतमले बताए । ०७९ फागुन ३० गते काम सम्पन्न गर्ने गरी पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको सम्झौता गरेको गौतमले बताए । 

रेसुंगा नगरपालिकाले स्थानीय, प्रदेश र केन्द्रसँगको समन्वयमा पर्यटन विकासका लागि रेसुंगा, अर्जुन र उनायचौरसहितका पर्यटकीय क्षेत्रलाई जोडेर रेसुंगा सर्किट बनाउने योजनाका साथ काम गरिरहेको छ । २५ करोडभन्दा बढी खर्च भएको सर्किटका कारण पर्यटन पूर्वाधारको निर्माणका साथै पर्यटकको आगमनमा वृद्धि हुने नगरपालिकाको अपेक्षा रहेको छ । जिल्लाको सबैभन्दा प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुंगा प्राकृतिक रूपमा पनि रमणीय छ । धार्मिक र प्राकृतिक हिसाबले उत्कृष्ट भए पनि केन्द्रको प्राथमिकतामा नपरेका कारण सोचेअनुसारको विकास भने हुन सकेको छैन ।  

पर्यटक तान्दै आकर्षक सिँढी
रेसुंगामा कृषिशृंगेसँग जोडिएको पाँच हजार वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ । विशेष गरेर साउन र कात्तिकका दुई ठूला एकादशीमा ठूलो मेला लाग्ने, रेसुंगा पोखरीमा नुहाउने तथा मैरीमा पूजा गर्न गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका भक्तजनहरू आउँछन् । पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहाउनेहरूको घुइँचो हुने रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।  

तम्घासदेखि पोखरीसम्म पुग्ने सडक अहिले कालोपत्रे हुँदै छ । पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबा मन्दिरसम्म दुई करोड लागतमा आकर्षक पैदलमार्ग (सिँढी) निर्माण गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबा मन्दिरसम्म दुई लेनको रेलिङसहितको एक हजार दुई सय ७५ सिँढीसहितको पैदलमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि भएको छ ।

अझै पैदलमार्गको दुवैपट्टि फलफूल, मध्यभागमा आकर्षक मैरी निर्माण, रामकुवाको संरक्षण तथा विभिन्न ठाउँमा बगैँचा निर्माणलगायतका संरचना निर्माणको काम बाँकी रहेको मरासिनीले बताए । रेसुंगा यज्ञशाला परिसरमा वाल र अन्य संरचना निर्माणमा ५० लाख र सानो रेसुंगामा ७५ लाखको लागतमा कृषिशृंगे मन्दिर निर्माण गरिएको छ । रेसुंगा क्षेत्रमै सार्वजनिक–निजी लगानीमा १० करोडको पौवा रिसोर्ट सञ्चालनमा छन् । अब रेसुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान र बस्नको कुनै असुविधा हुनेछैन भने ३० लाखको लगानीमा गौशाला निर्माणको काम गरिएको मरासिनीले बताए । 

मुख्य बजारमा थ्रिडी पार्क
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि थ्रिडी पार्क निर्माण गरिएको छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ५५ लाखको लागतमा थ्रिडी पार्क निर्माण गरिएको थियो । शंख र पानी–फोहोरासहितको पार्क निर्माण गरिएको रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामीले बताए । सामान्य प्राविधिक कारणले पार्कको नियमित सञ्चालन र व्यवस्थापनमा समस्या भएको भलामीले बताए ।

 अर्जुनडाँडा र सेल्फी टावर
अर्जुनडाँडा रेसुंगापछिको अर्को पर्यटकीय तथा धार्मिकस्थल हो । तम्घासबाट गाडीमा २० मिनेटको यात्रापछि पुगिने अर्जुनडाँडामा अर्जुन प्रदेशद्वार, अर्जुन भगवती मन्दिर, पोखरी र पार्क रहेका छन् । प्रदेश र स्थानीय तहको साझेदारीमा अर्जुनडाँडा पर्यटन पूर्वाधारअन्तर्गत ४० लाखबराबरको भौतिक संरचना निर्माणको काम भएको रेसुंगा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीले बताए । त्यस्तै, अर्जुन पुग्ने पर्यटकलाई तम्घास बजारसहित मनमोहक हिमशृंखलाहरूको तस्बिर खिच्न सेल्फी टावर निर्माण गरिएको छ । टावरबाट एकचोटिमा १५ देखि २० जनासम्मले अवलोकन गर्न सकिन्छ । करिब दुई हजार मिटर उचाइमा रहेको अर्जुनडाँडा धार्मिक एवं प्राकृतिक रूपमा महत्वपूर्ण रहेको छ । 

रेसुंगा, अर्जुन, उनायचौर र गौशालासँगै वडाहरूमा पनि पर्यटकीय संरचना निर्माणको काम भइरहेका छन् । रेसुंगा नगरपालिका वडा नं १ मा एक करोडको आकर्षक भगवती मन्दिर, वडा नं ९ मा ५० लाखको बालउद्यान र ३० लाखको तम्घासस्थान मन्दिर निर्माणको चरणमा छन् । त्यस्तै, वडा नं १० मा १० लाखको सिमिचौर मन्दिर र वडा नं १३ मा होमस्टे सञ्चालनका लागि १५ लाख खर्च गरिएको रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले जानकारी दिए । भुवानेडाँडामा पिकनिक स्पोर्ट निर्माणका लागि पाँच लाख खर्च गरिएको छ भने अहिले रेसुंगा क्षेत्रमै रेसुंगा पर्यटन पूर्वाधारका लागि १५ लाख विनियोजन भएको छ । ६५ लाखको लागतमा वडा नं ४ जोगीथुमस्थित भगवती मन्दिर निर्माणको काम पनि चालू अवस्थामा रहेको छ । 

पर्यटन विकास नै रेसुंगाको समृद्धि
स्थानीय तहहरूले जिल्लामा रहेका प्राकृतिक एवं धार्मिकस्थलहरूको विकाससँग कृषि उद्यमलाई अगाडि बढाइरहेका छन् । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुंगा र अर्जुन क्षेत्रको पर्यटकीय विकास गरेर तम्घासप्रतिको आकर्षण बढाउन नसकिए बसाइँसराइ रोक्न नसकिने बताए । मेयर भुसालले आफू निर्वाचित भएपछि रेसुंगा र अर्जुनसँगैका क्षेत्रको पर्यटकीय संरचनामा उल्लेखनीय काम गरेको बताउँदै निर्माणाधीन रेसुंगा विमानस्थल सञ्चालनमा ठूलो उपलब्धि हुने बताए ।  

उनायचौरमा आकर्षक ट्री हाउस
रेसुंगा नगरपालिका–७, उनायचौरमा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले आकर्षक ट्री हाउस निर्माण गरिएको छ । यो स्थानमा तम्घासबाट करिब २० मिनेटमा पुग्न सकिन्छ । उनायचौरको ४२ फुट अग्लो रूखको टुप्पामा १० जना बस्न मिल्ने घर निर्माण गरिएको छ । बस्ने, रमाइलो गर्ने, तस्बिर खिच्ने र तम्घाससहित उत्तरका मनमोहक हिमशृंखला दृश्यावलोकन गर्न सकिने गरेर ‘ट्री हाउस’ निर्माण गरिएको छ । नयाँ पर्यटकीय संरचना निर्माण गरिएकाले कर्मचारी, विद्यार्र्थी र युवायुवतीहरूका लागि मनोरञ्जन गर्ने नयाँ गन्तव्य ‘ट्री हाउस’ बनेको रेसुंगा नगरपालिका वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । उनायचौरमा ‘ट्री हाउस’, भगवती मन्दिर र खेलकुद मैदानका लागि अहिलेसम्म एक करोड ५० लाख खर्च भएको पाण्डेयले बताए ।

See More On

सुझावित समाचार