एमसिसीमा पूर्वप्रधानमन्त्रीहरूको जुहारी

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

कांग्रेसले हामीसँग कुरा गर्दा साथीभाइको सातो गएछ : ओली
एमसीसीबारे कांग्रेसले हामीसँग छलफल गरेको थाहा पाएपछि साथीभाइहरूको सातो गएछ– गठबन्धन टुट्छ भनेर । हिजो (शुक्रबार) बिहान प्रचण्ड–माधव नेपाल कुदेर शेरबहादुर देउवाकहाँ गएर भन्नुभभो– हामी एमसिसी पास गर्छौँ, गठबन्धन जोगाइदिनुस् । हामीलाई सडकमा नफालिदिनुस्, प्रभु ! प्रधानमन्त्री देउवाजीले ‘हेर्छु, कत्तिको इमानदार छौ, इमानदार रहेछौ भने ठीक छ’ भनेर पठाउनुभयो । हाम्रो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिन्छ । गैरसांसदलाई राखेर संसद् चलाइएको छ । संसद्मा सहभागी हुन नपाएपछि हामीले एमसिसीमाथि राय कहाँ व्यक्त गर्ने ? हामी स्पष्ट छौँ– सदन खोल्ने वातावरण बनाइयोस्, हामी देश र जनताको हितमा आवश्यक निर्णय लिन्छौँ । 

एमसिसीकै कारण प्रतिगमनकारी हाबी हुने त होइनन् भन्ने खतरा उत्पन्न भएको छ : प्रचण्ड 
गत वर्ष संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि घात गर्ने पात्र र प्रवृत्ति देखा पर्यो । त्यसविरुद्ध लाखौँ जनतासहित सबैले संघर्ष गरेपछि देशव्यापी आन्दोलनको बलमा त्यो परास्त बन्यो । तर, अहिले एमसिसीका कारण कतै लामो संघर्ष र मिहिनेतपछि प्राप्त उपलब्धि र उपेक्षित–उत्पीडित जनताका अधिकार गुम्ने त होइन भन्ने खतरा उत्पन्न भएको छ । हामीले गठबन्धन र सरकार गठन गर्दा एमसिसी हाम्रो एजेन्डा थिएन । सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसिसी थिएन । तर, आज एमसिसीकै कारण प्रतिगमनकारी हाबी हुने त होइनन् भन्ने खतरा उत्पन्न भएको छ । 

ओलीले नेपाललाई इन्डो–प्यासिफिक अंग बनाएका थिए : माधव नेपाल 
वामपन्थी भनिने केपी ओलीका आफ्नै मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर नेपाललाई इन्डो–प्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । हामीले जोडदार विरोध गरेपछि बल्ल नेपालको नाम काटिन पुगेको छ । केपी ओलीले नेपाललाई इन्डो–प्यासिफिक अंग बनाएर सिध्याइसकेका थिए । केपी अब सत्तामा आए फेरि बनाइदिन्छन् । वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतूहल छ । कतिपयले सर्त राखेर तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन् । उनीहरूको पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ, माधव नेपालसहितको १४ जनालाई मुन्ट्याएर निकालिदिनुपर्छ भनेका छन् । कस्तो अपराधपूर्ण चिन्तन ? 

कि प्रचण्डले पास गर्नुपर्छ कि सरकार छाड्नुपर्छ : बाबुराम भट्टराई
एमसिसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट आइपर्दै छ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ । यसको निम्ति अब संसद्मा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छेले लटरपटर पास गर्न चाहेका छन् । संसद्मा उपस्थितिको झिनो बहुमतले पास गर्न चाहेका छन् । संसद्मा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । ३५ जनाले यस्तो महत्वपूर्ण मुद्दा पारित हुँदैन । संसद्को अहिलेको संख्या दुई सय ७५ हो । भलै अहिले कायम संख्या दुई सय ७१ छ । आधा अर्थात १३८ भन्दा माथि पुर्याएर नै पास गर्नुपर्छ । त्योभन्दा तल कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ, त्यसो गर्न पाइँदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनोस्, एक सय ३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिरचाहिँ राष्ट्रवादभित्र चाहिँ राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौँ । हाम्रो स्पष्ट धारणा छ । 

सुझावित समाचार