गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण
गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

फाइल फोटो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तागठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरूको ध्यानकेन्द्रित भएको बताएका छन्। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपालदलित मुक्ति मोर्चाले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आफूहरू गठबन्धनलाई जोगाउने र एमसिसीबारे समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए।

“एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ। त्यसलाई रोक्नुपर्ने अवस्था छ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “प्रतिगमनकारी गठबन्धनअगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेका छौं।” 

विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रस्ट पारे। “प्रतिगमनलाई परास्त गरेपछि गठबन्धनमार्फत साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, क्षेत्र र समुदायका जनताका हकअधिकारलाई व्यवस्थित गर्ने प्रयास गर्दै छौं”, उनले भने, “प्रतिगमनलाई परास्त गर्दै प्राप्त गरेको उपलब्धि कहीँ एमसिसी सम्झौताकै कारण गुम्ने त होइन भन्ने स्थिति देखापरेको छ।”

अध्यक्ष प्रचण्डले जनताको संघर्षको बलमा स्थापित उपलब्धि उल्ट्याउने प्रयास भइरहेको बताए। “केही समयदेखि जनयुद्धका उपलब्धि, संविधानसभाबाट बनेको संविधानको सकारात्मक पक्षलाई उल्ट्याउने कसरत भएको हामीले देख्यौं”, उनले भने, “संविधान र संघीय गणतन्त्रमाथि घात गर्ने प्रवृत्ति र विचार प्रस्ट देखिए, हामीले नयाँ प्रकारको संघर्ष ग–यौँ।”

सुझावित समाचार