एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनले स्पष्ट पारे ।
शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्याेलताको समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसिसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भएको उनले बताए ।
‘अहिलेको अन्योलतालाई कसरी चिर्ने ? नेकपा(एमाले)को षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसिसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरू, आन्दोलनमार्फत उठाइएका विषयहरू र एमसिसीका सन्दर्भमा अहिलेसम्म जति पनि शंकाका कुराहरू छन्, त्यसमा राष्ट्रहितविपरीतका जुन दफाहरू छन्, कसरी यसलाई करेक्सन गर्न सकिन्छ र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा(एकीकृत समाजवादी)को निर्णय नै हो । उठेका कुराहरूलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ ? त्यसलाई कसरी सच्याउन सक्छौँ भन्ने विषयमा छलफल चलेको छ,’ उनले भने । अनौपचारिक रूपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरूका बीचमा छलफलहरू अगाडि बढाइरहेको पनि उनले बताए ।