प्रधानमन्त्रीकै चाहनामा संसद् बैठक स्थगित

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

एमालेको अवरोध कायमै रहने भएपछि एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमसिसी सम्झौता प्रस्ताव संसद्मा आइतबार पेस भएको थियो । 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेकै वेला प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा बैठक स्थगित भएको हो । एमसिसी अनुमोदनको सुनिश्चितता खोजिरहेका प्रधानमन्त्री देउवाले एमालेसँग संवाद र अन्य गृहकार्यका लागि संसद् बैठक स्थगित गर्ने विकल्प खोजेका हुन् । 

प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चारमन्त्री दिलेन्द्र बडूमार्फत सभामुखसमक्ष संसद् स्थगनको प्रस्ताव पठाएका थिए । ‘एमसिसी प्रस्ताव प्रक्रिया अगाडि बढाउनका लागि सदन सुचारु गर्न थप पहल र वार्ताको आवश्यकता भयो । त्यसैले शुक्रबारसम्मका लागि बैठक स्थगित गरौँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव छ,’ मन्त्रीद्वय कार्की र बडूले सभामुखसमक्ष प्रस्ताव गरेका थिए । त्यसपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । 

बिहीबारको बैठकका लागि बुधबार नै आइसकेको सम्भावित कार्यसूचीमा एमसिसीमाथि सामान्य छलफलका लागि सरकारले प्रस्ताव ल्याउने समावेश थियो । सोहीअनुसार बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था बैठक सम्भावित कार्यसूचीअनुसार एमसिसीमाथि सभामा छलफल गराउने कि नगराउने भन्नमै केन्द्रित भयो ।

बैठक सुरु हुनेबित्तिकै सभामुख अग्नि सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूलाई बोल्न दिएका थिए । बडूले यसअघिका बैठकमा झैँ आफ्नो भनाइको सुरुवात एमसिसीबाट गरे । एमसिसीबारे सामान्य छलफलको प्रक्रिया अघि बढाउन उनले सभामुखलाई आग्रह गरे । ‘प्रक्रिया अघि बढाउँदै जाँदा छलफलको वातावरण पनि बन्दै जान्छ । त्यसकारण छलफलको सुरुवात आजैबाट गर्नुपर्छ,’ उनले बैठकमा भनेका थिए ।

अघिल्ला तीनवटा बैठकमा झैँ बिहीबारको कार्यव्यवस्थामा पनि गृहमन्त्री बालकृष्ण खाण उपस्थित थिए । उनले धेरै बोलेनन्, तर एमसिसीमाथि सभामा छलफल सुरु गर्नुपर्नेमा जोड दिए । ‘टेबुल भइसक्यो, अब छलफलको सुरुवात गरौँ, विवादहरू मिल्दै जान्छन्,’ उनले भनेका थिए ।

कांग्रेस सचेतक पुष्पा भुसालले पनि एमसिसीमाथि छलफलको सुरुवात गर्नुपर्नेमा जोड दिएकी थिइन् । ‘गहिरो छलफल आवश्यक छ, अब सामान्य प्रक्रियाचाहिँ सुरु गरौँ,’ उनको भनाइ थियो ।

माओवादी प्रमुख सचेतक देव गुरुङले सभामा छलफल गर्ने वातावरण नबनाई एमसिसी अघि बढाउन नहुने बताएका थिए । ‘कानुनमन्त्रीज्यूले सभामा छलफलको वातावरण बनाउने भन्नुहुन्थ्यो । तर, आज यसबारे उहाँले बताउनुभएन । कति प्रगति भयो, छलफल गर्ने वातावरण बनाउन उहाँले के गर्नुभयो ? अहिलेसम्म प्रतिपक्ष परामर्श समितिमा आएको छैन । प्रतिकूल अवस्थामा छलफल अघि बढाउने कुरा जायज हुँदैन,’ गुरुङले भने । 

गुरुङले एमसिसीमा राष्ट्रिय सहमति हुनुपर्ने आफ्नो पुरानै अडान पुनः दोहोर्याएका थिए । ‘छलफल अघि बढाउँदा मानवीय ढंगले पनि सोच्नुपर्छ । प्रमुख प्रतिपक्षलाई कति समय नारा लगाउन दिने ? आन्दोलन गरिरहँदा घन्टौँ बैठक चलाउन पनि मिलेन,’ उनले भनेका थिए, ‘यो प्रस्ताव संसद्मा अनुकूल वातावरण नभई, राष्ट्रिय सहमति नभई अघि बढाउनुहुँदैन । गलत नजिर बस्छ ।’ माओवादीले एमसिसी टेबुल गर्ने ८ फागुनको निर्णयमा फरक मत राखेको थियो । 

एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि राष्ट्रिय सहमति जुटाएर मात्र एमसिसी अघि बढाउनुपर्ने बताएका थिए । ‘छलफलको वातावरण बनाउने काम गरौँ । अहिले नै छलफलमा नलैजाऊँ । पहिला सहमति गरौँ,’ उनको भनाइ थियो ।

लोसपा सांसद लक्ष्मणलाल कर्णले संसद्मा अप्ठ्यारो स्थिति भए पनि आफ्नो पार्टीले एमसिसीमाथिको छलफलमा भाग लिने निर्णय गरेको जानकारी दिए । ‘अप्ठ्यारो परिस्थिति छ । बैठकमा छलफल गर्ने वातावरण छैन । तर, हाम्रो पार्टीको निर्णय संसद्मा एमसिसीमाथि छलफल भयो भने भाग लिने भन्ने छ,’ उनले भनेका थिए ।

तर, जसपा सांसद प्रमोद साहले गुरुङको भनाइलाई समर्थन गर्दै एमसिसी अघि बढाउनुअघि सभामा छलफलका वातावरण बनाउन आग्रह गरे । विरोधबीच छलफल गर्नु लोकतान्त्रिक नहुने उनको भनाइ थियो ।

बैठकको अन्त्यतिर कानुनमन्त्री बडूले एमसिसीलाई छलफलमा लैजान सभामुखसमक्ष पुनः आग्रह गरेका थिए । ‘टेबुल भइसक्यो । अब अघि बढाऊँ, छलफल गरौँ । जनताले पनि हाम्रो सांसद के–के बोल्छन् भनेर हेर्छन् । हामीले सबैलाई समय दिनुपर्छ,’ उनले भनेका थिए । 

अन्तिममा सभामुख सापकोटाले एमसिसीलाई छलफल लैजाने बताएका थिए । उनको भनाइ थियो, ‘यो राष्ट्रिय विषय बन्यो, सबैले बोल्नुपर्छ । सौहार्द वातावरण बनोस् भन्ने चाहना मेरो पनि छ । सबैको कुरामा ध्यानाकर्षण भएको छ । तर, सरकारले ल्याएको प्रस्ताव अघि बढाउनुपर्छ,’ उनले भनेका थिए । 

प्रतिनिधिसभा बैठक सुरु गर्ने भनेर कार्यव्यवस्था बैठक सकिएको थियो । तर, १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक बसेन । बरु, संसद् सचिवालयले विशेष कारणले बैठक स्थगित गर्नुपरेको भन्दै अर्को बैठक शुक्रबारका लागि बोलाएको सूचना निकाल्यो । 

See More On

सुझावित समाचार